‘सम्झनाको फोटोकपी’ पोर्चुगलमा लोकार्पण

‘सम्झनाको फोटोकपी’ पोर्चुगलमा लोकार्पण



काठमाडौं । कवि सुरेश राईको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।

कार्यक्रम लिज्बोन स्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो । पुस्तकको लोकार्पण लिज्बोनमा रहेर व्यवसायमा सफलता हाँसिल गरिरहेका व्यवसायीहरु सुमेश श्रेष्ठ ,दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रुपमा गरेका थिए ।

रेष्टुरेन्ट संचालक सुमेश श्रेष्ठले कवि राईका कविताहरु सरल र सबैले बुझ्ने खालको रहेको बताउँदै लेखन यात्राको लागि शुभकामना व्यक्त गरे । अर्का व्यवसायी दिनेश श्रेष्ठले कविको आमा सम्बन्धि कविताहरु अत्यन्तै मर्मस्पर्शी रहेको र यो कृति सफल हुने विश्वास व्यक्त गरे । आफू गीत संगीतको विद्यार्थी भएकोले कविता र संगीतको अटूट सम्बन्ध हुने बताउँदै गायक मेघ लामाले कविको कविताको प्रशंसा गरे ।

कार्यक्रममा कवि र गीतकार निलम राईले संग्रहभित्रका तीन कविता वाचन गरेकी थिइन् । उनले साधारण बिम्बको प्रयोग गर्दै कवि राईले गहिरा गहिरा कुराहरु व्यक्त गरेको बताइन् । भिजनरी डिलाइट ईभी कम्पनीका प्रबन्धक रजनी घलेले कार्यक्रम संचालन गर्दै संग्रहभित्रको ‘टग अफ वार’ कविता वाचन गरेकी थिइन् ।

पुस्तक शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो। खोटाङका कवि राई हाल दक्षिण कोरियामा कार्यरत छन् ।