चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल



काठमाडौँ । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ ।

यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरू छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउँछन् स्थानीय वीरेन्द्र तितुङ । उनी भन्छन्, ‘हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ ।’

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेको छ । तिमध्ये केही फुल्न सुरू गरेका छन् भने केही भर्खर हुर्कंदै छन् । केही रूखहरू फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छ ।