अवैध बाटोबाट अमेरिका लैजाने भन्दै केन्या पुर्‍याएर बन्धक बनाउने गिरोह पक्राउ

अवैध बाटोबाट अमेरिका लैजाने भन्दै केन्या पुर्‍याएर बन्धक बनाउने गिरोह पक्राउ



काठमाडौं । गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चो जुगल गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए ।

उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ । तिनै जनाले नगद लिएर दुबई हुँदै केन्यासम्म लगेर बन्धक बनाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

उनीहरूले हालसम्म १५ जना नेपालीलाई केन्यालगायत विभिन्न मुलुकमा लगेर बन्धक बनाएको खुलेको छ । ती पीडितबाट उनीहरूले साढे ७ करोड रुपैयाँ लिइसकेको खुलेको रेग्मीले बताए ।

अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितलाई दुबई ट्रान्जिट गराएर केन्याको राजधानी नैरोबी लैजाने गर्थे । त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपछि अफ्रिकी मुलुकका एजेन्टले पीडितलाई रिसिभ गर्थे । ट्याक्सीमा राखेर केन्याको जिम्मारमानस्थित भाडामा लिएको दुई वटा फ्ल्याटमा राखेर पीडितलाई ६ महिना बन्धक राखेको खुलेको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।