गुराँसको गुहार

गुराँसको गुहार



अघिल्लो अंकमा गुराँसको गुन आलेख पस्किएको थिएँ । किनभने घान्द्रुकदेखि पुनहिलसम्मको उकालोमा बिभिन्न प्रजातिका गुराँसका रुखहरुको जङ्गल थियो । उचाई अनुसारको तह तहमा र तल्ला तल्लामा गुराँसको पृथक प्रजाति दिल खोलेर फुलिरहेका थिए ।

होचो भागमा लाली र सिम्रिक रङमा फुलिरहेका गुराँस टाढापानीमाथि गुलाबी रङमा ढकमक्क फुलिरहेका थिए । पैदल यात्रुको शिरमा फुलका केस्रा झर्दा लाग्दथ्यो गुराँसले प्रकृतिप्रेमी पर्यटकहरुलाई स्वागत गरिरहेको छ, पुजिरहेको छ ।

टाढापानीदेखि द्यौराली हुँदै थाप्ले डाँडासम्म गुरासका बिशाल बृक्ष देख्दा लाग्दथ्यो कति उर्बर माटो र उस्तै स्वस्थकर खुशी सुखी गुराँसका गगनचुम्बी बृक्षहरु । घारीका घारी । डाँडा पाखा भरि । बेंशीदेखि चुट्टीसम्म ढकमक्क फुलको अटुट प्राकृतिक बगैचा ।

उडान भर्दा ती डाँडा पाखाहरु रातो अबिरले पुरिएको जस्तो रङगीन देखिन्थे । २०७४ सालमा जोमसोममा हेलिकोप्टरको प्रयोग गरेर प्यारासुटबाट सप्लाई ड्रप गर्न ढकमक्क फुलिरहेको गुराँसघारी माथिबाट होचो उडान भर्ने अपूर्ब अवसर पाएको थिएँ ।

६ बर्षपछि ती गुराँसलाई पैदलयात्रा गरेर छुने चुम्ने मौका जु-यो । नाङ्गो आँखाले गुराँसको सुन जस्तो गुन देख्न पाइयो ।

किन कसरी गुन
ढकमक्क गुराँसले पर्यटकहरुलाई ध्यानमग्न, मख्ख र दङ्ग बनाइदिएको थियो । बिरुवा बृक्ष र पात खस्रो भए पनि फुल आफै अति कोमल नम्र भद्र सुन्दर र सुगन्धित थिए । हामीलाई नम्र भद्र सत्यवान स्वाभिमान हुन पाठ सिकाइरहेका थिए । अझ भिरमा खडा बिशाल बृक्ष र ढकमक्क फुलले हुरिबतास, आँधीबेहरी, घामपानी, भोक, अभाव, भय त्राससँग नआत्तिनु नभाग्नु नहार्नु र सहनशील, धैर्यवान, स्वाभिमान भइ दरो उभिनु जित्नु भनेर पाठ सिकाइरहेका थिए ।

आफैले जन्माएको बचाएको हुर्काएको कोपिला फक्रिएपछि पातहरुले आफू झुकेर नुहेर सुन्दर फुललाई माथि उचालेर सम्मानित, शोभायमान र सुन्दर देखाइरहेका थिए ।

उकालो आरालो यात्रा गरिरहेका बाल हुन् बृद्ध, सबै यात्रुहरुले असीम आनन्दको अनुभूत गरिरहेका थिए । आफूलाई भाग्यमानी ठानिरहेका थिए र पुनः छुट्पुट् परिवार र मित्रजनसँग त्यो स्वर्गको भ्रमण गरिछाड्ने सपना बुनिरहेका थिए । जसरी म अर्को बर्ष प्रकृतिप्रेमी श्रीमती गीता गुरुङ्गलाई त्यो फुल संसारमा पु-याइ छाड्ने कसम खाइरहेको थिएँ ।

गुराँसको गुन पर्यटकहरुलाई बिर्सिनसक्नु छ । स्थानीयहरुलाई गुराँसले पर्यटकहरुको ओइरो लगाई दिएको छ । घरघरमा समृद्धिको फुल फुलाई दिएको छ ।

मान्छेको गुन
गुन दोहोरो हुन्छ । गुनको ऋण गुनले तिर्नुपर्दछ । मान्छेको गुन उस्तै तारिफयोग्य थियो । कदरयोग्य थियो । बनमा चरिचरण शून्य । घाँस दाउरापात शून्य । भिरपहिरो शून्य । अतिक्रमण शून्य । फोहोर मैला शून्य । डढेलो शून्य । भद्धा टावर र गेट निर्माण शून्य ।

बाटोमा खडा गुराँसका रुखहरुले साइनपोष्टको माला लगाएका थिए । साइनपोष्टमा लेखिएको थियो –
“फुल नटिप्नुहोला ।
फुल टिप्नेलाई ५ हजार जरीवाना ।
गुराँस संरक्षणमा सहभागी बनौं ।
गुराँस संरक्षणलाई सहयोग गरौं ।”

साइन पोष्टजस्तै स्थानीयवासीहरु अनुशासित र जवाफदेही देखिन्थे । गुराँसका भक्तजन । प्रकृतिका पुजारी । साथै उनीहरु गुराँसको फुल जस्तै सरल, शालीन, कोमल, नम्र, भद्र र स्वाभिमान थिए । प्रकृति पाठले नुहेका झुकेका र मुस्कुराएर अतिथि देवो भवः मा ध्यानमग्न र एकाग्र देखिन्थे । गुराँसले दिएको पर्यटन अवसर र समृद्धिलाई उनीहरु त्यही गुराँसको रक्षा कल्याण सम्मान गरेर गुन तिरिरहेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा मैले गुराँसको भविष्य उज्वल देखें ।

बैगुनी को ?
बिडम्बना ! गुराँस फुलिरहेका सुन्दर डाँडा पाखा खर्कका खुट्टी, घुँडा, कन्दानी, छाती जबरजस्ती काटेर चिरेर सडक लैजाने प्रकृतिबिरोधी बिकाससँग लेकमा बस्ने समुदायर वाक्क देखिन्थे । पदयात्रा गर्ने युरोप, जापानका पर्यटक कायल देखिन्थे । धुलो, धुँवा, हिलो, भिर, पहिरोले क्वालिटी टुरिस्टलाई पर्दा लगाइदिरहेको भान हुन्थ्यो । अर्कोपटक नआउने र सन्तानलाई सास्ती नदिने संकल्प लिएको देखिन्थ्यो ।

आफ्नै पिठ्यँु र नङ्राको पौरख बेचेर पेट पालिरहेका घोडा खच्चड् आँखाभरि आँसु बोकेर गुराँसका रुखमुनि झोक्राइरहेका रोइरहेका देखिन्थे । उनीहरुलाई धुले सडकले बेरोजगार बनाएर भोकभोकै मारिरहेको थियो ।

उही हालत थियो क्वालिटी पर्यटकको भारी बोकेर दैनिक १५ हजार कमाउने र जन्मभूमि मै रमाउने कर्मठ् बहादुर स्वाभिमान धर्ती पुत्र भरियाहरुको ।

जोमसोममा हवाई यात्रा, मोटर यात्रा पु-याएर बिकास नपुगेको अथ्र्याउने दलाल बिचौलिया र तिनको पुच्छर सरकार अन्नपूर्ण संरक्षण क्षेत्रलाई ध्वस्त बनाएर अर्को केबलकार यात्रा संचालनको चास्नीमा डुबेको लज्जास्पद हर्कतसँग स्थानीय आक्रोशित थिए ।

उता लेकमा स्थानीय समुदाय र घोडा खच्चड सँगसँगै बिश्वप्रख्यात अबोध पदमार्ग धुरुधुरु रोइरहेका थिए । प्रकृतिलाई साँचेर मानेर पदयात्रा संचालनबाट जीबिकोपार्जन चलाउने साना पयर्टन उद्यमीहरु बिलखबन्दमा परेका थिए । वाक्य बन्दमा थिए ।

आज, पोखरा सारङ्गकोट जाने केवलकार डिब्बा खाली छन् । चन्द्रागिरीको तारेभिरमा जाने डिब्बा खाली छन् । भोलि बन्दिपुर जाने डिब्बा खाली हुनेछन् । अब जोमसोम जाने डिब्बा खाली नहुने के ग्यारेण्टी ? जब कि स्थानीय समुदाय एउटा गुराँस काट्न नदिने र गुराँसमाथिको आकाश पनि त्यो डिब्बालाई नदिने दृढ संकल्प लिएर बसेका छन् ।

राजा बीरेन्द्र हिंडेर उडेर अवलोकन गरी बनाएको र स्थानीय समुदायको सहभागितामा नमूना संरक्षण ब्यबस्थापन भइआएको अन्नपूर्ण संरक्षण क्षेत्र आज तीब्र ध्वस्तको मति र गतिमा छ । राज्यको पुरसंरचना र तीन तहको सरकार संरक्षण क्षेत्रलाई दुबिधा सृजना गर्ने काँडो र घाँडो भएको छ ।

संघीय स्वामित्व र स्थानीय अपनत्व खोसेर प्रकृति बिरोधी तस्कर र दलालहरुले यो हीराको टुक्रालाई निजीकरण गर्दै छन्; जुन किमार्थ प्रकृतिको हित, स्थानीय हित र राष्ट्रिय हितमा छैन । गुनी स्थानीय र महागुनी गुराँसको राजधानीमा बैगुनी ब्यापारी सरकार तस्कर र अतिक्रमणको गुञ्जायस छैन र सबै मिलेर त्यो बैगुनी अबैध ब्यापारलाई पूर्णबिराम लगाउन जरुरी छ । प्रकृति संरक्षणको राष्ट्रिय ध्यान त्यसतर्फ केन्द्रित हुन जरुरी छ । स्थानीय हक अधिकारको आँखा खुल्न बिलम्ब भएको छ । प्राकृतिक न्यायको लागि प्रकृति अधिकारकर्मीहरुको अध्ययन अनुसन्धान वकालत र खबरदारी त्यसतर्फ केन्द्रित हुन जरुरी छ ।

गुराँसको गुहार
यो बर्ष पूर्वदेखि पश्चिम नेपालसम्म गुराँस ढकमक्क फुलेर मातृभूमिलाई सिंगारे । सुन्दर प्रस्तुत गरे । थरिथरिका आकार र रङ्गका प्राकृतिक माला नेपाल आमाका घाँटीमा लगाइदिए ।

गुराँस संरक्षण गर्नुपर्दछ भन्ने गहिरो र दृढ भाष्य निर्माण भएको छ आजको समाजमा । गुराँस संरक्षण समवर्द्धन र परवर्द्धनको सकरात्मक भाव जागृत भएको छ आजको युवा पिंढीमा ।

गुराँसको गुहार स्पष्ट छ –
“म रोगभोक अभावमा सुरक्षित हुन सक्दिनँ । लोभी पापी दरिद्रको आँगनमा हाँसी खुशी फक्रिन फुल्न सक्दिनँ ।

म गुण्डा देश, गुण्डाराज र कुशासनमा सम्मानि हुन सक्दिनँ । कुशासनमा म निस्सासिन्छु आत्तिन्छु र जिउँदै काटिएर सुकेर जलेर मर्नेछु ।”

त्यसैले मेरो गुहार छ, प्रार्थना र पुकार छ –
‘दूरदराजका कुनाकन्दरामा फुल टिप्नु हँुदैन भन्ने शिक्षा र सचेतनाको ज्योति छिटो फैलियोस् । ता कि म राष्ट्रिय सु–संस्कार, गौरवशाली संस्कृति र सभ्यता निर्माण गर्न सकूम् । राष्ट्रिय कर्म धर्म उर्जा अनुशासन जवाफदेहिता भरिदिन सकूम् । र, देशैभरि सभ्य समृद्धिको सुवास छरिदिन सकूम् । गुराँस भन्नासाथ राष्ट्रिय सु–संस्कारको वासना आवस् ।

छिटो कानूनी राज्यमा बिधिको शासन देख्न पाइयोस् । ब्यबहारमा सुशासन अनुभूत गर्न पाइयोस् । र, गाउँ घर समाज कुना–कन्दरा पहरामा समृद्धिको सुवास छिटो फैलियोस् ।

बस, त्यो नै मेरो सच्चा सुरक्षाकवच हुनेछ । अनि मात्र म सुरक्षित, सम्मानित र सुखी हुन सक्ने छु । र, युगयुगसम्म शान्ति समृद्धि र सुखको प्राकृतिक आशीर्वाद दिइरहने छु ।’

र, सबै तहका सरकारसँग अन्तिम गुहार छ –
‘मलाई भाँचेर टिपेर बेचेर पेट पाल्नुपर्ने, स्कूलको शुल्क तिर्नुपर्ने र सिटामोल किन्नुपर्ने अवस्थामा बालबालिका, युवायुवती र बृद्धबृद्धालाई नराखिदेउ । जनताको त्यो बाद्यात्मक दरिद्रता छिटो खोसिदेउ ।

म भाँचिएर, चुँडिएर, टिपिएर, मरेर होइन युगयुगसम्म रुखमै फुलेर हाँसेर तिम्रो समृद्धिको सपना पूरा गरिदिन चाहान्छु ।’

अन्त्यमा, सर्वमान्य, सर्वस्वीकार्य, सर्वशक्तिमान स्थानीय सरकारहरुले भद्धा टावर र गेट निर्माण होइन, गुराँस संरक्षण क्षेत्र र गुराँस पार्क निर्माणमा ध्यान दिउन् । संघ र सरकारको तन मन ध्यान खिचून र गुराँस पार्क हेर्न आउन बाध्य पारुन् । गुराँस घारीले स्थानीय सरकारको त्यही बिशुद्ध प्रकृतिप्रेम र संरक्षण प्रेमको प्रतीक्षा गरिरहेको छ ।

समृद्धिको बाँकी जिम्मा गुराँस र प्रकृतिको ।