उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा

उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा



काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरेकाे छ । फैसलाको तयारीसँगै अदालत अगाडि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ ।

मंगलबार अदालत परिसरबाहिर मुद्दाको फैसला सुन्नका लागि ठुलो भिड लागेकाे थियो । साँझ फैसला नआएपछि निराश बनेकाहरूले अदालतबाहिर नै नाराबाजी गरेका थिए ।

सो घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले बुधबार अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा गरेको छ । सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरेको छ भने भिडभाड गर्न रोक लगाइएको छ ।

सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन ।

आज जाहेरवालाका बाँकी कानुन व्यवसायी र सन्दीप पक्षका कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले फैसला सुनाउने छ ।