सन्दीपको मुद्दामा बहस सकियो, फैसला सुनाउने तयारी

सन्दीपको मुद्दामा बहस सकियो, फैसला सुनाउने तयारी



काठमाडौँ । जबर्जस्ती करण मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ ।

मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला २६ पक्षका कानुन व्यवसायीको बहस सकिएपछि लामिछानेका तर्फबाट अधिवक्ताद्वय सविता भण्डारी र सरोजकृष्ण घिमिरेले जवाफी बहस गरेका थिए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले मुद्दालाई फैसला प्रक्रियामा पुर्‍याएका छन् । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन् । उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । पीडित पक्षले गौशाला २६ नाबालिग नै रहेकाले त्यसैबमोजिम थप सजाय माग गर्दै २ चैत २०८० मा पुनरावेदन गरिएको थियो ।