शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ



कञ्चनपुर । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिकाको वडा नं ६ दुम्लीमा ट्रयाक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थमा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुङ्गा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए ।

घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ ।

उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ ।