सुनकोशी किनारको माझी बस्ती

सुनकोशी किनारको माझी बस्ती



बीपी राजमार्गको यात्रा सधैं रोमान्चक हुने गर्छ । जापानी प्रविधिमा बनेको देशकै नमुना सडक, यात्रामा पर्ने बस्ती नदी पहाड खोंच बेसी सबै मनमहोक लाग्छ । त्यसैले सधै, सवैका लागि यो राजमार्गको यात्रा अविश्मरणीय हुने गर्दछ ।

मुलकोट पुगेपछि शुरु हुने नागबेली सडक यो राजमार्गको सबैभन्दा आकर्षक पाटो हो। त्यही नागबेली सडक छिचोल्ने क्रममा सुनकोशी पारी किनारमा रातो जस्ताको छाना भएको एकनासका घरहरु निकै सुन्दर देखिन्छन्।

यात्राको क्रममा तलको क्वालिटी रिसोर्ट र नदी पारिको यो बस्तीमा जो कोहीको नजर तानिने गर्छ । यो नमुना बस्तीलाई लिएर मेरो मनमा सधैं कौतुहल्ता रहिरहन्थ्यो । छेउमा बस्नेहरुलाई नसोधेको पनि होइन । कसैले रिसोर्ट भने त कसैले नमूना बस्ती । मान्छे पिच्छे फरक जवाफ ।

वारीबाट यात्रा गर्नेहरुलाइ टाढैबाट लोभ्याउने माझी गाँउ भित्रको यो नमुना बस्तीको यथार्थ भने त्यही पुगे पछि मात्र थाहा भयो । यसको कथा व्याथा पनि बिचित्रको रहेछ ।

नमुना बस्तीका सुविधासम्पन्न यी घरहरु तीन वर्षदेखि प्रयोग विहीन बनेर बेवारिसे जस्तै बन्ने अवस्था पुगेको थाहा पाउँदा भने मन चसक्क भयो ।

बाहिरबाट हेर्दा सुन्दर देखिने त्यो नमूना बस्तीभित्रको यथार्थले निकैबेरसम्म बेचैन बनायो ।

नयाँ वर्षको अघिल्लो साँझ हामी मुलकोटको क्वालिटी रिसोर्ट पुगेका थियौं। रिसोर्टको ठ्याक्कै पारीपट्टी सुनकोशी किनारमा माझी बस्ती छ । जहाँ धेरै वर्षको अघि मेरो बहिनी तील कुमारीले स्वास्थ्यकर्मीको रुपमा लामो समय काम गरेकी थिइन् । वर्षो पछि उनिसँगै त्यहाँ पुग्ने अवसर मिल्यो ।

हामी पुग्दा अधिकाशं घरका मझेरीमा बालबच्चाहरु खेलिरहेका थिए । त्यहाँ भेटिएका एकाधलाई बहिनीले आफू आएको गाँउलेलाई जानकारी दिन भनिन् ।

रोचक त के भयो भने, त्यसको केही क्षणमै सबै माझीहरु एकाएक जम्मा भए । पूरै माझी बस्तीले उनिप्रति देखाएको आत्मियता, सम्मानले हामीलाई छक्क बनायो । विगतमा बहिनीले माझी बस्तीमा पु-याएको सेवाप्रतिको उनीहरुको कृतज्ञता झन् मन छुने थियो ।

उनीहरुले आफ्ना पछिल्ला पुस्तालाई समेत परिचय गराउँदै हिजोको अनकन्टार माझी बस्तीमा स्वास्थ्य र चेतना अभिबृद्धिमा बहिनीको योगदानलाई सम्झाए । विगतका धेरै कुराहरू स्मरण गर्दै खुसी साटासाट पनि गरे ।

खबर नगरी आउँदा आफूहरुले केही तयारी गर्न नपाएकोमा भने उनीहरूले विस्मात माने । अंगुर पाकेको बेला फेरि आउनु पर्छ है भनेर निम्ता पनि गरे ।

बहिनीले उनीहरुका लागि कोसेली लिएर गएकी रहिछिन् । कोसेली भन्दा पनि हिजोको दिनमा कोशी किनारमा रहेको एक अन्जान बस्तीमा बहिनीले गरेको सेवाप्रति उनिहरू बढी अनुगृहित बनेको पाएँ मैले ।

माझी बस्तीको पारीपट्टी बीपी राजमार्ग बनेको छ । पारी किनारमा विकासले ठूलो फड्को मारेको छ, तर कोशीको वारी किनारको माझी बस्ती अझै पुरानै अवस्थामा छ । यही बस्तीको सिरान बनेर मध्य पहाडी लोकमार्ग अगाडी बढेको छ । तर, त्यो राजमार्गले पनि माझी बस्तीमा कुनै सुगमता थप्न सकेको छैन ।

बस्तीको बीचमा नमुना एकिकृत बस्तीका घरहरु बनेका छन् । तर, त्यो प्रयोगमा नआउँदा हात्तीको देखाउने दाँत जस्तो मात्र भएको छ ।

त्यो नमूना बस्तीभित्रका घरहरु बाथरुम सहित दुईवटा कोठाको छ। सबै घरहरुलाई कम्पाउण्ड वालले घेरेर दुवै तर्फ आकर्षक प्रवेशद्वार पनि बनाइएको छ । घरहरु सुविधासम्पन्न भएर पनि माझीहरुका लागि उपयोगमा आउन भने सकेको छैन । ती घरहरु यतिबेला बस्नका लागि नभई घाँस दाउरा र अन्नपात राख्नका लागि मात्र उपयोग भइरहेका छन् भन्दा धेरैका लागि अपत्यारिलो पनि लाग्न सक्छ, तर यथार्थ यहि हो ।

स्थानीय जनजीवन, सामाजिक परिवेश, रहनसहन र आवश्यकतालाई ध्यान नदिई राजधानीको कुनै कोठामा बसेर बनाएको विकास योजनाको प्रतिफल कस्तो हुन्छ भन्ने विकासविद्हरुका लागि यो एउटा गतिलो पाठ पनि हो, उपयोग विहीन बनेको नमूना माझी बस्ती ।

स्थानीयले उपयोगमा ल्याउन नसकेको वा नचाहेको किन रहेछ भनेर बुझ्न मन लाग्यो । यथार्थमा भन्दा उनीहरूको आवश्यकता पुर्ति नहुने र आफूले भोगचलन गर्दै आएको जीवन भन्दा फरक स्विकार्न असहज भएको हो भनेर बुझ्न गाह्रो थिएन । यो नमुना बस्तीको घरहरु पारीपट्टीका रिसोर्टहरुले आफ्नो पाहुनाहरुलाई ग्रामिण परिवेशको अनुभव दिलाउन होमस्टेको रुपमा उपयोग गर्ने सोच पनि बनाउँदै रहेछन् ।

सिमान्तकृत माझीहरुलाई आधुनिक सुविधा दिलाउने उदेश्यले बनेका नमूना बस्तीले कुनै प्रतिफल दिन नसकेजस्तै नमूना बस्ती होमस्टेमा रुपान्तर हुँदा, माझी बस्तीको लागि भने त्यहाँ पुग्ने मान्छेहरुको नयाँ नयाँ अनुहार हेर्ने अवसरमा मात्र सिमित हुने अवस्था भने बन्नु हुँदैन ।

होमस्टबाट उनीहरूको जीवन र जीविकोपार्जनमा सुधार ल्याउने अवसरहरु सृजना हुन सकेन र त्यसको प्रतिफलबाट उनीहरू टाढै रहने अवस्था बन्यो भने होमस्टे पनि अहिलेको असफल नमूना बस्तीको अर्को पाटो हुनेछ ।

आर्थिक रुपमा गरिब भएपनि मौलिक संस्कार र संस्कृतिले धनी समुदाय हो माझी बस्ती । यसको पृथक संस्कार र संस्कृति अहिले पनि विशेष रहेको छ । तर, आधुनिकतासँगै माझी समुदायको संस्कार र संस्कृतिमा पनि क्षयीकरण शुरु भईसकेको छ । यसको संरक्षण र सम्बर्दधन जरुरी छ ।

बस्तीलाई छोएर सुनकोशी बगेको छ । तरपनि स्वच्छ खाने पानीको लागि माझी बस्ती अझै तड्पीरहेको छ । गरिबी, अशिक्षा, बेरोजगारी र स्वास्थ्य चेतनाको अभाव, बस्ती माथिका पहाडमा मासिँदै गएको बनक्षेत्र, उव्जाउशील जमिनको अभाव यो बस्तीको मुख्य समस्याहरु हुन् ।

हिजो सुनकोशीको माछाले सहजै जीवन धानिरहेका माझीहरुका लागि बढ्दो जलप्रदुषणको कारण नदीमा माछा घटेपछि पुर्खौली पेशा पनि संकटमा परेको छ । केहीले नदी तरेर पारीपट्टी बीपी राजमार्गको किनारमा होटल व्यवसाय चलाउने जमर्को पनि गरेका रहेछन् । तर, अहिलेको प्रतिस्पर्धामा गरिब माझीहरुले आधुनिक रिसोर्टहरुसँग प्रतिस्पर्धा गर्दै आफ्नो व्यवसायलाई अघि बढाउन सहज छैन ।

बरु समग्र माझी बस्तीलाई सुधारेर होमस्टे सञ्चालनमा सरकारले सहयोग गर्ने हो र त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिने हो भने माझीहरुको बस्ती र जीवनले काँचुली फेर्न सक्छ ।

माझी बस्तीको मौलिकतामा खलल नपुग्ने गरि यहाँको विकास र समृद्धिको लागि प्रयास हुने हो भने यो बस्ती संस्कार, संस्कृति र जनजीवन अध्ययन गर्नेहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ । यसले यस भेगको पर्यटन प्रवद्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्छ ।