सम्झौता कार्यान्वयन नभएपछि देशभर सहकारीपीडितको आन्दोलन सुरु

सम्झौता कार्यान्वयन नभएपछि देशभर सहकारीपीडितको आन्दोलन सुरु



काठमाडौँ । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । काठमाडौं, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको हो ।

संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार ‘बचतकर्ताको पैसा फिर्ता गर’, ‘बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ’, ‘सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर’लगायत नारासहित प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

सरकारले दुई पटकसम्म सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए । उनले भने, ‘सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगञ्ज, चितवन, धरान, पोखरा, बुटवललगायत जिल्लामा पनि आन्दोलन एकैपटक निरन्तर चलिरहन्छ ।’