पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ



काठमाडौं । अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य एक विदेशी महिला पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित पक्राउ परेकी छिन् ।

कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन् । दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए ।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ ।