बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर



काठमाडौं । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो । सोही आधारमा टेक्दै जिल्ला अदालतले दोषी ठहर गर्ने फैसला सुनाएको हो ।

सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको पीडितको बयानपछि जिल्लाले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।