सरकार कसले चलाउँछ, प्रधानमन्त्रीज्यू ?

सरकार कसले चलाउँछ, प्रधानमन्त्रीज्यू ?



तापक्रम बढेर जनजीवन नै अस्तब्यस्त बदै गएको छ । तराईको जनजीवन त कष्टकर नै बनेको छ । तातो हावाले मानव स्वास्थ्यमा गम्भीर समस्या देखाउन थालेको छ, एकातिर भने अर्कोतर्फ पानीको समस्याले तड्पाउन लागेको छ । चुरे विनाशले ल्याउने विकराल तस्बिरको झझ्लको तराई–मधेशमा दिन सुरु गरिसकेको छ । अनगिन्ती समस्या र सम्भावित खतरातर्फ राज्य संयन्त्रको ध्यान नै जान सकेको छैन । बल्लतल्ल सहकारी संस्थाहरुको रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समिति बनाएर सरकारले बजेट भाषणसम्म गर्न पाएको छ । प्रदेशका सरकार गठन र विघटनमा ध्यानकृष्ट भएको छ । नागरिकका गुनासा, समस्या र चाहानाको मात्र विषय छैन, सरकारको कर्तव्य र दायित्वको विषय पनि भएकोले सम्बोधन गर्नुपर्ने र सावधानी अपनाउनुपर्ने तमाम कुराहरुमा सरकार बेखबर भएको छ ।

पुराना पाका मानिसले भनेको सुनिन्थ्यो कि– ‘यसको सुर नै छैन ।’ सरकारको बेसुरपनाको सम्झना आउँछ । आफूले भ्रमण तयारी गरेको देशमा आफ्नो तर्फबाट प्रतिनिधित्व गरिसकेको राजदूतलाई फिर्ता बोलाउन उनै राजदूतलाई लिएर भोजभतेर खान हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै असजिलो लागेन । कूटनीतिक क्षेत्रको ‘कुरीकुरी’ गरेको प्रधानमन्त्रीले पत्तो नै पाएनन । भारतका प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुन भारत जानै लागेको समयमा राजदूतलाई फिर्ता बोलाएर आफ्नो नालायकी प्रस्तुत गर्दै कुम हल्लाउन भ्याएका दाहालले फर्केर विमानस्थलमा आएपछि मात्रै आफ्नो ध्यान नपुगेको दुखेसो पोखे । हामी नेपालीले त सरकारको पार्टीहरुको, पार्टीका नेताहरुको ध्यान पुगेको कहिले महसुस गर्न पाएका छौं र !? कम्तीमा दुनियाँलाई देखाउन त लाज छोप्नुपर्छ, टालटुल गर्नुपर्छ । छोरी लिएर घुम्न निस्किएको प्रस्तुति त प्रधानमन्त्रीको हुनुभएन नि ! बालखा छोरीको चित्त बुझाउन घुमाउन निस्किएको शैलीमा प्रस्तुत भएका प्रधानमन्त्रीको रवैयाले नेपालको अन्तर्राष्ट्रिय छवी त धुलिसात नै बनाएको छ । त्यसमा थपिएको घरेलु समस्या, जानकारीले भोग्नु परेका कठिनाइ प्राकृतिक प्रकोपको समाधान र त्यसमा राज्यले लिनुपर्ने दायित्व तथा अप्नाउनुपर्ने सावधानीले राज्य व्यवस्थाको चरित्र स्पष्ट गरेको छ ।

गत निर्वाचनमा गरेको गठबन्धन तोडी ओली–लामिछानेको ओत लाग्नु पर्नाको कारण जनताले थाहा पाउनुपर्ने कि नपर्ने ? हिजो प्रधानमन्त्री दाहाललाई के असजिलो भएको थियो, आज के सजिलो भयो ? हिजो के गर्न अवरोध भएको थियो, आज के सहज भएको छ ? जनताले अनुभू ितगर्ने किसिमको परिवर्तन कहाँ कहाँ भएको छ ? प्रधानमन्त्रीले जानकारी गराउनु आवश्यक छ । घटनाक्रमहरु हेर्दा प्रधानमन्त्री तातो तावामा छटपटाइएको देखिन्छ । सरकारमा रहेका दलहरुका मठाधीशहरुले सार्वजनिक गरेका अभिव्यक्ति, स्वामित्व लिने किसिमका छैनन् । आफ्नै पूर्व सहकर्मीहरुलाई अलगथलग गरेर कुर्सीमा विराजमान प्रधानमन्त्रीले आफ्नै परिवारको इच्छा र चाहना मात्र पूरा गराउनु हुने हो या अरु जिम्मेवारीमा नै बढी केन्द्रीत भएको पाइएको छ । पार्टीका कार्यकर्ताहरुको सार्वजनिक टिप्पर्णी यस्तै छ, भाइलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री छोरीहरुको माग पूरा गर्न अर्को बाटो नलाग्लान भन्न सकिँदैन । कुनै खास लक्ष्य उद्देश्य र गन्तव्य नै देखिएन ।

जसरी पनि सत्तामा पुग्ने कुम हल्लाउने, कहिले कांग्रेसको, कहिले एमालेको पुच्छर समातेर सत्ताको वैतर्णी तर्नेभन्दा अगाडिको सोच, चिन्तन र दृष्टिकोण नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्रीको भएको छर्लङ्ग नै भयो । पार्टी उनको लाचार छायाँ बनेको छ । जीवन्त मानिस नभएको आभास मिलेको छ । केही जीवित मानिस पहेंलो धातुको ओसार पसार लगायतका तस्करीमा तल्लिन देखिन्छन् । सर्वसाधारण नेपालीका छोराछोरीहरुलाई ‘साम्यवाद’ को सपना देखाएर बलिबेदीमा चढाउनेहरुको अनुहार यस्तो कुरुप होला भन्ने कल्पना पनि गरिएको थिएन होला । हेर अनुहारमा पोतिएको पहेलो धातुको ध्वस्त बनाएको इतिहास ? नागरिकले किन र केका लागि राजनीतिक नेतृत्वलाई सहयोग र समर्थन दिने ? जनताका कथा ब्यथा र समस्या यसप्रतिको नै गम्भीर बन्यो ?

भाइलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री छोरीहरुको माग पूरा गर्न अर्को बाटो नलाग्लान भन्न सकिँदैन । कुनै खास लक्ष्य उद्देश्य र गन्तव्य नै देखिएन ।

नयाँ जोगीहरुको ठगी धन्दाको त पर्दाफास नै भएको छ । खराब भन्दा खराब पात्रले खराब नै साथ र सहयोग लिने र पाउने हो । यहाँ यस्तै भएको छ । लुटेरा लुटेराहरुको गठबन्धन बनेका न हो । गिरीबन्धु टि स्टेटको कुरा होस् वा सहकारी ठगीको होस् वा सुन तस्करीको नै किन नहोस् । सार्वजनिक सम्पत्ति, प्राकृतिक श्रोत साधन सर्वसाधारणको बचत रकम हिनामिना, अनियमितता र भ्रष्टाचार नियमित प्रक्रिया नै भएको छ । यस कार्यमा जो असल र इमान्दार छ ऊ नै पहिलो रोजगाइमा परेको कसले नुबझेको हो र ? सरकारमा, दलमा, गुटमा कर्मचारीतन्त्रमा सबै सबै तह र निकायमा गलत, बेइमान र फोहोरी मानिसको बाहुल्यता छ ।

इमान्दार र असल मानिस त एक मिनेट नै टिक्न नसक्ने अवस्था छ । कुनै पनि ठाउँमा राम्रो मानिसको स्थान नै छैन । आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न पनि अतिरिक्त खर्चको अपेक्षा नराखी सामान्यभन्दा सामान्य काम पनि हुँदैन । तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचारको छानबिन र अनुसन्धान गर्ने निकाय आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थादेखि संस्थागत भ्रष्टाचार र अनियमिततासम्म राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता, साझेदारी र सहजिकरण पाइन्छ । हरेक ठाउँको समस्या समाधानमा त्यस्तै चरित्र, पृष्ठभूमि र जिम्मेवारीमा रहेका व्यक्तिहरुले भूमिका निर्वाहा गरेको हलो अड्काएर गोरु पिटेको स्पष्ट देखिन्छ । कोही पनि मानिस सेवाभावले राजनीतिमा आएको अनुभूति हुन छोडेको छ । स्वार्थ र व्यवसायिक साझेदारी चलाउन पार्टीको नाउको टिकट खरिद बिक्री हुँदै विजय, पराजयको यात्रासम्म कायम रहेको देखिन्छ ।

जुनसुकै मूल्य चुकाएर पनि सत्तामा रहनु छ, पुग्नु छ, धन्दापानी चलाउनु छ, आफ्ना कर्तुतहरुको ढाकछोप गर्नुछ । दाहाल–ओली–लामिछाने गठबन्धनले गरेको यही हो । गर्न चाहेको यस्तै हो । देउवाको यो भन्दा फरक मार्गचित्र भएको भए यत्ता न उत्ताको हुनुपर्ने थिएन । एक किसिमले सबै सबैलाई बिटुल्याइएको छ । बाँकी बच्न खोजेको र बचेकाहरुलाई तलैदेखि निमिट्यान्न पारिएको छ । कहीकतै अपवादमा रहेभएकाहरु किनाराकृत छन्, भूमिकाविहिन छन्, निर्णायक छैनन, हुँदैनन । सफा मानिस प्रतिस्पर्धा नै गर्न नसक्ने परिस्थिति बन्दै गएको छ । यस्तै प्रवृत्तिलाई प्रोत्साहित गरिएको छ । सर्वसाधारणले स्वीकार गर्नुको विकल्प छैन ।