विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३.७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८०.३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कोशीमा गतवर्ष असार १४ सम्म १६.९६ प्रतिशत धान रोपाइँ गरिएको थियो ।
प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिइन् । झापामा सबैधन्दा धेरै ७५ हजार सात सय ५९.१८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा धान रोपिने गरेको उनले बताइन् ।
हालसम्म झापामा ११.३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९.४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५.२५ प्रतिशत, ओखलढुङ्गामा १२.२५ प्रतिशत र खोटाङमा १३.४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । विगतका तुलनामा कम रोपाइँ भए पनि यसवर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उनले बताए ।
राष्ट्रिय धान दिवसको अवसरमा मोरङको जहदा गाउँपालिकास्थित कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा धान रोपाइँ कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता रहने प्रमुख सिंहले बताए ।
प्रतिक्रिया