वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा १० हजार बिरुवा रोपिए

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा १० हजार बिरुवा रोपिए



झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका– ३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले ती बिरुवा रापेको हो ।

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएकाे वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपेका उनले जानकारी दिए ।

जिल्लाको उत्तरी भेगमा जंगली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको संख्यामा रहेका रैथाने जंगली हात्तीले यही जंगललाई वासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि जंगलनजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।

जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए। हाल जंगलमा हात्ती र बाँदरका लागि खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अलमल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपिन राईले बताए । उनले भने, ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।’

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा संकलन गरेका थिए। जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँसलगायत बिरुवा रोप्ने गरेका जानकारी दिए । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए ।