खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४ सय ३९ परिवार उच्च जोखिममा

खोटाङमा बाढीबाट ८५ र पहिरोबाट ४ सय ३९ परिवार उच्च जोखिममा



खाेटाङ । खोटाङमा बाढीबाट ८५ परिवारका तीन सय २० जना र पहिरोबाट चार सय ३९ परिवारका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेका पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेर यस्तो तथ्याङ्क निकालेको हो । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काका अनुसार दुई नगरपालिका र आठ वटा गाउँपालिका रहेको खोटाङमा चार वटा पालिका बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ । पहिरोको उच्च जोखिममा १० वटै पालिकाका धेरैजसो वडा रहेका प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ ।

प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको समितिका संयोजक एवम् खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।