आफू बाँचुञ्जेल उथलपुथल भइरहने फरमान जारी गर्दै सत्तारोहण गरेका नेपाली राजनीतिका अस्थिर एवम् अविश्वसनीय पात्र पुष्पकमल दाहाल एकाएक सत्ताबाट बहिर्गमित बन्न पुगे । जसरी पनि सत्ता प्राप्त गरिन्छ भन्ने ध्वास दिएर पार्टी कार्यकर्तालाई हौस्याएका थिए– उनले जनता समाजवादी पार्टीलाई विभाजित गराउँदा । संसदमा आफ्नो हैसियत विचार नै नगरी ‘पल्टुराम’ को उपाधि पाएका दाहाल सत्ताबाट बाहिरिन नपाउँदै ‘समाजवादी मोर्चा’ को आवश्यकता महसुस गर्न थालेका छन् । कांग्रेस–एमाले गठबन्धनलाई अप्राकृतिकको संज्ञा दिएका छन् । तर प्राकृतिक चाहिँ के थियो र हो भन्ने स्पष्ट गर्न आवश्यक देखेका छैनन्।
उनले आफू र आफ्ना गतिविधिलाई समीक्षा नै गर्न चाहेकाे देखिएन । संविधान संशोधनको सन्दर्भलाई ‘पश्चगमनको प्रयास’ भनी नै दिए । दाहाल आफैले संविधान संशोधनको लागि छलफल चलाउन आवश्यक भएको वक्तव्य सार्वजनिक नै गरेका थिए । आफ्नो भनाइ र व्यवहारतर्फ कुनै ध्यान नै नदिएर अर्कोतर्फ प्रहार गर्न खोज्ने प्रवृत्ति आफैमा नकरात्मकता हो । दाहालले अन्य पक्षलाई नकरात्मक भएको आरोप लगाएका थिए । उनी कहाँ, कहिले, कसरी सकारात्मक भए, त्यो नेपाली जनतालाई बताउन सक्छन् ? सत्ता गमनका अरन्यरोदनलाई अग्रगमन र पश्चगमनसँग जोड्न मिल्छ ?
नेकपा माओवादी २०६४ सालमा एक्लै चुनाव लड्दा पहिलो दल बनेको थियो । त्यो कसरी भन्ने आम जनताको विस्मृतिमा गएको छैन नै होला । त्यसपछिको माओवादीको हैसियत छर्लङ्ग नै छ । नेकपा एमालेसँगको गठबन्धन र पार्टी एकताको तीतो अनुभव भएर नै होला पछिल्लो निर्वाचनमा कांग्रेससँग गठबन्धन भयो । वैचारिक दृष्टिकोणले कांग्रेस–कम्युनिष्ट गठबन्धन प्राकृतिक होइन नै । त्यसमा पनि कांग्रेसले कम्युनिष्ट (एमाले–माओवादी) सँग गर्ने गठबन्धन अस्वभाविक नै हुन्छ । अलग अलग बैचारिक र सैद्धान्तिक आधार र पृष्ठभूमि भएका दलहरु र तिनका कार्यकर्ता तहमा गर्नुपर्ने सहकार्य स्वभाविक र सहज मानिदैन ।
तथापि कार्यकर्ताले स्वीकार गरे । सत्ता राजनीतिमा माओवादीलाई ‘जोक्कर’ मानेर कहिले कांग्रेसले त कहिले एमालेले बाजी मार्न खोजे । तर पुष्पकमल दाहालले आफ्नो ‘संख्या’ ख्याल नगरी कांग्रेस र एमालेलाई देखाएर सत्तामा नेतृत्व गरिरहन खोजे । जसले गर्दा कांग्रेस एमाले सहकार्यको अवस्थासम्म आइपुगे । विशुद्ध सत्ताका लागि मात्र कांग्रेस–एमालेले गठबन्धन गरेको सन्देश नजाओस् भनी संविधान संशोधनसमेतका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन खोजेको रणनीतिक शब्दजाल प्रयोग भएको देखिन्छ । सुधार गर्नुपर्ने प्रशस्त विषय भए पनि संविधान चलाउने वित्तिकै अन्य समस्या र शक्तिकेन्द्रहरुको स्वार्थ सलबलाउने खतरा छ । यसको छनक ‘समाजवादी मोर्चा’ को नाउँमा दाहाल–नेपाल–चन्द–भुषालहरुले दिइ नै सके ।
यो झिनो त्यान्द्रो पनि चुडियो भने नेता र नागरिक बीचको सम्बन्ध जोडिन धेरै समय लाग्छ । ठूलो ग्याप आउँछ, अन्य शक्तिहरुले खेल्ने ठाउँ पाउँछन् । पुस्तौ पुस्ताले अफसोच मान्नुपर्ने हुन्छ ।
सबैभन्दा पहिला त जनताको टुटेको विश्वास जोडनुपर्ने चुनौति कांग्रेस–एमाले गठबन्धनका अगाडि छ । आशा र भरोसा देखाइ विश्वासको वातावरण बनाइ, सबै क्षेत्र, बर्ग तथा समुदायको अपनत्वको प्रत्याभूतिमा मात्र संविधान संशोधन सम्भव देखिन्छ । नेपालको असफलतामा मलजल गर्ने शक्तिहरु क्रियाशील नै छन् । त्यसभित्र सत्ता राजनीतिको असफलताबाट विक्षिप्त समूह पनि थपिँदा जटिलता गुणात्मक हुनसक्छ । सरकारप्रतिको भरोसा स्थापित नभएसम्म जनताको विश्वास आर्जन हुँदैन । कुनै पनि परिवर्तनको सम्भावना त्यत्तिबेला मात्र सम्भव हुन्छ, जतिबेला जनताको साथ, सहयोग र समर्थन रहन्छ ।
‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने लोकोत्ति सार्थक बन्दै गएको अवस्थामा संयमित कदम चाल्नुपर्ने हुन्छ । एमाले–कांग्रेसबीचको सहकार्यप्रति पनि सकरात्मक धारणा छैन । आम मानिसको धारणा बदल्ने किसिमको कार्य सम्पादनले मात्र वातावरण बनाउन सक्छ । जुन कुरा राजनीतिक नेतृत्वले मनन नै गर्न सकेन । कहिले को कहिले को मन्त्री बन्ने बनाउने आफ्नो मान्छे बनाइने, स्वार्थ बाझिने विभाग दिने, आलोपालो भाग पुर्याउने जस्तो भयो ।
भारतमा तेस्रो कार्यकाल सुरु गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुलाई समेत निरन्तरता दिएका छन् । राम्रो काम गरेका मन्त्रीहरुको विभाग परिवर्तन भएको छैन । गठबन्धन नै भए पनि भारतीय जनता पार्टीले सहयात्री दलहरुलाई चित्त बुझाएर महत्वपूर्ण मन्त्रालयहरु आफैले राखेको छ र दश वर्ष काम गरेका व्यक्तिहरुलाई नै बनाएको छ । परिणाम दिन सक्ने व्यक्तिहरुको खोजी गर्नुपर्नेमा आफ्ना मान्छे बनाउने र त्यसलाई नै निरन्तरता दिने परिपाटीले जनताको अविश्वासको पारो अस्वभाविक बनाएको हो । यहाँ कसैले कसैलाई केही भन्न सक्ने अवस्था छैन । असहमति राख्ने ठाउँ देखिँदैन ।
भागवण्डा गर्ने र हिस्सा खोज्नेहरुले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा फरक देखाउने बाटो पनि बन्द गरेका छन् । सत्तामा जान खोज्ने साथीहरुले गठबन्धन ठीक बेठीक भन्ने ठाउँ नै रहेन । नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले संसदभित्र र बाहिर बोलेको कुरामा तादाम्यता देखिएन । अब यो वा त्यो बहानाबाजी गरेर उम्कने ठाउँ छैन । साझा चुनौतिको रुपमा जनताको मन जित्नुपर्ने, जिम्मेवारीबोधपूर्ण कार्य सम्पादन र परिणाम चाहिएको छ । राजनीति सेवामुखी काम हो र त्यसप्रति इमान्दार बन्नसक्ने व्यक्तिहरु नै राजनीतिमा संलग्न हुन्छन् भन्ने भाष्य बनाउन सक्नुपर्दछ । राजनीतिक आयमूलक व्यवसाय होइन, नाफाघाटाको लेखापरीक्षण यहाँ हुँदैन भन्ने मान्यता, विचार र व्यवहारले मर्तरुप पाएको खण्डमा मात्र सरकारलाई कांग्रेस–एमाले गठबन्धनलाई राजनीतिक ‘कोर्ष करेक्सन’ का लागि संविधान संशोधनको बाटो खुल्न सक्छ । अन्यथा कठिन नै देखिन्छ ।
प्रधानमन्त्री ओलीसँग बौद्धिक क्षेत्र संशकित छ । उनले विगतमा पटक पटक गरेको संसद विघटन, केही घोटालाहरुमा उनले देखाएको बचाउ, अवसर पाएर पनि आर्जन गर्न नसकेको विश्वासनीयता जस्ता कुराहरुले सचेत नागरिक धेरै आशावादी छैन । त्यसप्रति गठबन्धन सरकार गम्भीर बन्न जरुरी छ । यो झिनो त्यान्द्रो पनि चुडियो भने नेता र नागरिक बीचको सम्बन्ध जोडिन धेरै समय लाग्छ । ठूलो ग्याप आउँछ, अन्य शक्तिहरुले खेल्ने ठाउँ पाउँछन् । पुस्तौ पुस्ताले अफसोच मान्नुपर्ने हुन्छ । दुःख पाउनेहरुको संख्या बढ्छ । विकराल नै भए पनि वैदेशिक अवसरको खोजी तीब्र बन्छ । काम गर्ने हुटहुटी हो कि मन्त्री बन्ने हुटहुटी मात्र हो भन्ने पनि देखिन्छ । देश र जनताको भाग्य र भविष्य जोडिएको हेक्का रहोस् ।
प्रतिक्रिया