दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो

दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो

झन्डै १४ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । केही दिनयता उच्च अंकले बढिरहेको शेयर बजार आज सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अंकले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि २४८८ अंकमा बन्द भएकाे हाे । यस दिन ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रहेकाे छ ।

बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।

प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७.९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो ।

हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका छन् ।

आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।