नेपाली कांग्रेसमा बुढानीलकण्ठ पछि रातोपुल विस्तारै शक्ति केन्द्र बन्दै गइरहेको थियो । बुढानीलकण्ठ त भनिरहनु परेन, रातोपुलमा चाँहि कांग्रेस महामन्त्री गगनकुमार थापाको घर रहेको छ । पावर सेन्टरको रुपमा विकसित हुँदै गरेको रातोपुलमा कांग्रेस सरकारमा जानुअघिसम्म ठूलै भिडभाड लाग्थ्यो । नाटकीय ढंगले त्यो भिडभाड यतिबेला चाक्सीबारी अर्थात् वर्तमान उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा सरेको छ । चाक्सीबारी सर्वमान्य नेता गणेशमान सिंहको निवास पनि हो र प्रजातन्त्रका हरेक आन्दोलनमा नाम जोडिने ठाउँ पनि हो ।
शक्तिको पछाडि भिड दौडिनु कुनै अनौठो भएन । रातोपुलको भिड चाक्सीबारीमा सर्नुको पछाडि प्रकाशमान सिंह उपप्रधान मन्त्री बन्नु मात्र होइन भन्ने कुराको कांग्रेसभित्र यतिबेला विश्लेषण हुन थालेको छ । पर्दा पछाडि रहेका र खासै चर्चामा समेत नरहेका सिंह एकाएक कांग्रेसको नेतृत्व गरेर सरकारमा गएपछि यसलाई सभापति देउवाको एक रणनीतिक कदमको रुपमा हेरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले भागवण्डा गर्नुपर्दा संधैं आफू ६० प्रतिशत राखेर ४० प्रतिशत संस्थापनइतरलाई दिने गरेका थिए । तर यसपटक सभापति देउवाले आफूले ४० प्रतिशत राखेर ६० प्रतिशत इतर समूहलाई दिएका छन् । आफ्नो कोर टिमको चारजनालाई मन्त्री दिएर ६ जना इतरसमूहलाई मन्त्री पद बाँडेका छन् । यसको सोझो अर्थ हो, इतर समुहमा पनि गुटमा रहेकालाई आफूतर्फ तान्ने र यतिबेला कसैलाई पनि नचिढ्याउने ।
यसबाट पनि बुझ्न सकिन्छ, कांग्रेस नेताहरु १५ औं महाधिवेशनको तयारीमा जुटिसकेका छन् । कांग्रेसभित्र सिनमा आएको चाहिँ अहिले दुईवटा पावर सेन्टर मात्र छन् । विज्ञ टोलीसहितको सचिवालय गठन गरेर महामन्त्री गगन थापा र शेखर कोइराला लागिसकेका छन् । महामन्त्री थापाको टोलीमा युवराज पाण्डे, शंकर तिवारी, डिल्ली सुवेदी र राजु थापा खटिरहेका छन् । यता, शेखरको सचिवालयमा डा. गोविन्द पोखरेल, शोभाकर पराजुली, पुरञ्जन आचार्यलगायतले मेहेनत गरिरहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले भागवण्डा गर्नुपर्दा संधैं आफू ६० प्रतिशत राखेर ४० प्रतिशत संस्थापनइतरलाई दिने गरेका थिए । तर यसपटक सभापति देउवाले आफूले ४० प्रतिशत राखेर ६० प्रतिशत इतर समूहलाई दिएका छन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले पनि गुट खडा गरेर पार्टी नेतृत्वमा पुग्न सकिन्छ कि भनेर प्रयास नगरेको होइन । उनले सभापति देउवाको पहिलो रोजाइको पात्र बन्ने प्रयास गरेका थिए । तर खड्काबाट पार्टी नचल्ने निष्कर्षमा सभापति देउवा पुगेपछि महामन्त्री विश्वप्रकाश शर्मामार्फत् उनी विस्तारै गगन समूहप्रति झुकाव राख्दै आएका छन् ।
सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशन पछि पार्टी राजनीतिबाट अलग हुने इच्छा राखेका छन् । तर त्योभन्दा अगाडि राष्ट्रपति पद आफ्ना लागि सुरक्षित राख्ने, पत्नी आरजुलगायत केहीलाई पार्टीमा स्थापित गर्ने चाहना छ उनको । यो चाहना कुन समूहलाई धाप मार्दा पूरा हुन्छ भन्ने खोजीमा देउवा लागेका छन् । परीक्षणका रुपमा अहिले प्रकाशमान सिंह छन् । यो परीक्षामा प्रकाशमान सिंह खरो उत्रे भने आउँदो महाधिवेशनमा सम्भवतः तीन समूहबीच भिड्न्त हुनेछ ।
सत्ता हातमा लिएर पार्टी सभापति देउवाले महामन्त्री गगनको पावर ब्रेक गर्न सफल भएको कतिपयको विश्लेषण छ । सभापति देउवाले मन्त्री पद निक्कै सुझबुझ तरिकाले बाँडेका छन् । संस्थापन इतरबाट छ जना भनिए पनि गगन र शेखरको एक–एकजना मात्र मन्त्री बनेका छन् । गगनको तर्फबाट प्रदीप पौडेल र शेखरको तर्फबाट रामनाथ अधिकारीबाहेक अरु सबै सभापति देउवाप्रति नरम देखिन्छन् ।
सभापति देउवामार्फत कांग्रेसको विरासत लिन खोजेका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिसमा मन्त्री बनेका तेजुलाल चौधरी, पूर्व महामन्त्री शंसाक कोइरालाको सिफारिसमा ऊर्जा मन्त्री बनेका दीपक खड्का र धनराज गुरुङको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डे गुट त्यागेर सभापति देउवाप्रति लचिलो बन्न तयार छन् ।
गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय राजनीतिमा उदाएका जीवन परियार संस्थापनइतरभित्रको लडाइँले मन्त्री बन्न पाएनन् । शेखर समूहबाट मन्त्रीको लिस्टमा परेका जीवन परियारलाई पार्टी उपसभापति धनराज गुरुङ रोक्न चाहन्छन् । गण्डकी प्रदेशबाट पार्टी राजनीतिमा दुरगामी प्रभाव पार्न सक्ने जीवनलाई उपसभापति गुरुङ अगाडि बढेको देख्न चाहदैनन् । सभापति देउवासमक्ष भिटो प्रयोग गरेर गुरुङले परियारलाई मन्त्री बन्नबाट रोकेका हुन् । परियारको स्थानमा बद्री पाण्डेले मन्त्री हुने अवसर पाए । संस्थापन इतर समूहको पावर ब्रेकका लागि भए पनि सभापति देउवाले पाण्डेलाई मन्त्री बनाए ।
कोइराला परिवार वा गणेशमान सिंहको परिवारमध्ये एउटालाई कांग्रेसको विरासत जिम्मा लगाएर पार्टी राजनीतिबाट विश्राम लिने योजनामा सभापति देउवा छन् । यो परीक्षामा मन्त्री प्रकाशमान सिंह खरो उत्रन सकेनन् भने १५ औं महाधिवेशनमा सभापति देउवासँग दुईवटा मात्र विकल्प बाँकी रहने छ । देउवाले शेखर वा गगनमध्ये एउटालाई धाप मार्नुपर्ने हुनसक्छ । यदि यो परिवेश सिर्जना भयो भने सभापति देउवाको बार्गेनिङ पावर घट्न सक्छ ।
१५ औं महाधिवेशन अगाडि नै देउवा प्रधानमन्त्री बन्ने र त्यो भन्दा अगाडी नै एकपटक ओली सरकारमा मन्त्री हेरफेर हुने हुँदा अहिले देखिएका संस्थापनइतरका गुटउपगुट अझै तितरवितर हुनसक्ने सम्भावना पनि त्यतिकै छ । त्यसकै तयारीस्वरुप सभापति देउवाले तत्काललाई प्रकाशमान सिंहलाई अगाडी बढाएर ट्रायल गर्न खोजेको बुझिएको छ । देउवाको सिंह कार्डले कति काम गर्छ त्यो थाहा पाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया