न्युजिल्यान्डमा हेरचाह केन्द्रमा रहेका २ लाख जनाले गम्भीर दुर्व्यवहार भाेगे : अध्ययन

न्युजिल्यान्डमा हेरचाह केन्द्रमा रहेका २ लाख जनाले गम्भीर दुर्व्यवहार भाेगे : अध्ययन



काठमाडौं । विगत ७० वर्षमा न्युजिल्यान्डमा सरकार र निजी क्षेत्रको हेरचाह केन्द्रमा रहेका दुई लाख जनाले गम्भीर दुर्व्यवहार भोग्नुपरेको एक अनुसन्धानले जनाएको छ ।

न्युजिल्यान्डको अहिलेसम्मको सबैभन्दा ठूलो र महँगो एक ऐतिहासिक अनुसन्धानका अनुसार दुई लाख जना बालबालिका तथा कमजोर युवा र वयस्कहरूले हेरचाह केन्द्रमा गम्भीर दुर्व्यवहार भोगेका हुन् । सन् १९५० देखि २०१९ सम्म हेरचाहमा रहेका रहेक तीन जनामध्ये एक बालबालिका बलात्कार, बिजुलीको झट्का र जबरजस्ती श्रमको शिकार भएका छन् । अनुसन्धानका क्रममा झन्डै तीन हजार जना व्यक्तिको अनुभव लिइएको थियो ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यो घटनाप्रति माफी माग्दै यसलाई न्युजिल्यान्डकाे इतिहासमा एउटा अन्धकार र दुःखद दिन भन्नुभएको बीबीसीको खबरमा उल्लेख छ । यो अनुसन्धानका लागि एक करोड एक लाख डलर रुपैयाँ खर्च भएको थियो ।

धेरैजसो दुर्व्यवहारहरू विपन्न वा सीमान्तकृत समुदायबाट हेरचाह केन्द्रमा पुगेकाहरूले भोगेका थिए । जसमा माओरी र प्रशान्त क्षेत्रका मानिसका साथै अशक्तता भएकाहरू पनि छन् । केही मानिसहरूले जातीयता र छालाको रङ्गका कारण अपमानित भएको बताएका छन् । दुर्व्यवहार सहन नसकेर कयौँ मानिसले हेरचाह केन्द्रमै आत्महत्या गरेका र यसलाई स्वाभाविक मृत्युका रूपमा वर्णन गरेर घटनालाई लुकाइएको पनि अनुसन्धानले देखाएको छ ।

सरकारले पीडितहरूलाई क्षतिपूर्ति दिने पनि योजना बनाएको छ । रिपोर्टका अनुसार यो दुर्व्यवहार र उपेक्षाको आर्थिक लागत दुई खर्ब १७ अर्ब न्युजिल्यान्ड डलरसम्म हुने अनुमान छ ।