शहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

शहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता



काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार गृहमन्त्रालयमा भेट्न पुगेकी महेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु ,’ गृहमन्त्री लेखकले भने । 

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मकेशलाई शहिद घोषणा पनि गरेको थियो । तर, राज्यबाट शहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ । गृहमन्त्री लेखकसँगको भेटमा उनले भने, ‘बाबु शहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन । राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो ।’

शहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा मृत्यु भएको मिति नमिलेपछि सुविधाबाट पाउनबाट एक वर्षदेखि मुकेशको परिवार बन्चित छ । ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन । मन्त्रीज्यूले त्यो सच्याएर सुविधान पाउने व्यवस्था मिलाउछु भन्नु भएको छ,’ मिराले भनिन् ।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री आफ्नो समस्या राखेपनि सम्बोधन नभएको उनको भनाइ थियो । ‘अहिले मन्त्रीज्यूले मन्त्रिपरिषदमा लिएर हाम्रो माग सम्बोधन गर्छु भन्नु भएको छ । प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्छु भन्नुभयो छ । अब माग सम्बोधन हुने आशा राखेकी छु,’ उनले भनिन् । 

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । 

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै  ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।