काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।
यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको महानगरले जनाएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको महानगरले भनेको छ। विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको महागरले जनाएको छ ।
नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गर्न महानगरले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरुले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ । हामी यस विषयमा जानकारी लिँदैछौँ ।’
विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ ।
प्रतिक्रिया