वासिङ्टन (डीसी) । इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
संक्षिप्त पत्रकार भेटका क्रममा बोल्दै जिन–पियरेले अमेरिका सधैँ स्पष्ट इजरायलको पक्षमा रहेको बताउँदै बन्दीहरूलाई मानवीय व्यवहार अन्तर्राष्ट्रिय कानुन अनुसार गर्नुपर्ने बताएका हुन् ।
बन्दीहरूलाई मानवीय मर्यादाका साथ व्यवहार गरी बन्दीहरूको मानव अधिकारको सम्मान गर्नुपर्ने तथा दुर्व्यवहारका लागि जबाफदेहिता सुनिश्चित गर्नुपर्ने उनले बताएका छन् ।
इजरायली रक्षा बलसंवद्ध सैनिकद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि गम्भीर प्रकृतिका दुर्व्यवहार गरेको अनुसन्धानपछिको दाबीलाई समर्थन गर्दै पियरेले कानुनको पालना गरी विधिको शासन र उचित प्रक्रिया कायम हुनु आवश्यक रहेको बताए ।
उनले नेताहरूको पहलले मात्र यस क्षेत्रको तनावबारे कूटनीतिक सम्झौता गरी युद्धविराम र बन्धक मुक्तिको सम्झौतालाई निष्कर्षमा ल्याइने जानकारी गराए ।
यसबारेमा राष्ट्रपति बाइडेनसमेतले केही समयदेखि चासो राख्दै आएको बताउँदै उनले सम्झौताका लागि निरन्तर काम गरी कैदीको मानव अधिकार संरक्षण र मध्यपूर्वको तनाव व्यवस्थापन गर्न प्रयासरत रहेको बताएका छन् ।
प्रतिक्रिया