काठमाडौँ । आठ दिन बस्ने गरी गएको जुन ५ तारिख अर्थात् जेठ २३ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका दुई जना अमेरिकी अन्तरिक्षयात्री अझै फर्किएका छैनन् ।
५८ वर्षीया सुनिता विलिअम्स र ६१ वर्षीय ब्यारी विल्मोर चढेर गएको बोइङ स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएका कारण उनीहरू दुई महिनाभन्दा बढी समयदेखि रोकिएका अमेरिकी अन्तरिक्ष निकाय नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पहिलोपटक अन्तरिक्षयात्रामा प्रयोग गरिएको बोइङ स्टारलाइनरलाई उनीहरूले अन्तरिक्षमा पुर्याए पनि सुरक्षित फर्कने नदेखिएको नासाले जनाएको छ । अन्तरिक्षमा रोकिएका यात्रुका लागि आवश्यक पर्ने कपडा र खानेकुरा भने नासाले यही हप्ता स्पेक्सएक्स रकेटको प्रयोग गरेर पठाएको छ । बोइङ स्टारलाइनरलाई नै फर्काउन पहल भइरहेको र त्यो सम्भव नभएमा भने अन्तरिक्षमा रोकिएका यात्रु अझै ६ महिना उतै बस्नुपर्छ ।
नासाले आउँदो सेप्टेम्बरमा अन्तरिक्षमा पठाउने मिसनमा उनीहरूलाई फर्काउने योजना बनाएको छ । सेप्टेम्बरमा जाने यान सन् २०२५ को फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्कनेछ ।
नासाले रोकिएका यात्रुले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको टोलीसँग काम गरिरहेका र उनीहरू खुशी रहेका पनि जनाएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अरू सात जना नियमित बस्दै आएका छन् । अन्तरिक्षमा रोकिएका दुई जनाले पनि वैज्ञानिक परीक्षणदेखि अन्तरिक्ष केन्द्रको सरसफाइ, मर्मत लगायतका काम गरिरहेका नासाले जनाएको छ ।
प्रतिक्रिया