बंगलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह

बंगलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह



न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बंगलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गरी सो आग्रह गरेका हुन् ।

“महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बंगलादेशमा शान्ति पुनःस्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदायका साथै जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरे ।”

बढ्दो विरोधबिच आवामी लिगकी नेत्री शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ । मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।

देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेको अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बंगलादेशी सेनाबिच मङ्गलबार झडप भएको थियो ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिएका थिए ।