काठमाडौँ । गएको आर्थिक वर्ष २०८०/८१ मा झन्डै साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ । गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ ।
यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने चार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।
त्यसेगरी २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको जनाएको छ ।
५ खर्ब नाघ्यो शोधनान्तर बचत
गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नघेको छ ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।
राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको भुक्तानी सन्तुलत ५ खर्ब २ अर्ब ४९ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापार करिब स्थिर जस्तै हुँदा रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले शोधनान्तर बचत सँगै चालु खाता बचत पनि उच्च दरमा बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । गत आर्थिक वर्षमा अझै बढेको हो । गत आसारमा अमेरिकी डलरमा शोधनान्तर बचत ३ अर्ब ७७ करोड छ ।
आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा नै भएपनि चालु खाता घाटामा थियो । उक्त वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।
पूर्णपाठ :
प्रतिक्रिया