काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वाे थी आन्ह सुआन नेपालको ३ दिने औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फिर्ता भएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे ।
त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । यस्तै उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको सम्मान गारतको निरीक्षण गरेकी थिइन् ।
यही भदौ ७ गते नेपाल भ्रमणमा आउनुभएका उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । यस्तै उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरेकी थिइन् ।
भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।


प्रतिक्रिया