साउनमा भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स

साउनमा भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स

विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्षको साउनमा भन्दा १८ प्रतिशतले बढेर रेमिट्यान्स एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स झन्डै २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर एक अर्ब दुई करोड डलर पुगेको छ ।

पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३६ हजार नाै सय २८ जना रहेको छ । यो अघिल्लो वर्षको साउनको भन्दा तीन हजार जनाले कमी हो । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६ सय ४७ जना रहेको छ, यो अघिल्लो वर्षको साउनमा भन्दा ६ हजार जनाले धेरै हो ।

यसैबीच साउन महिनामा मूल्यवृद्धि घटेको राष्ट्र बैंकको दाबी छ । साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४ दशमलव १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ७ दशमलव ५२ प्रतिशत रहेको थियो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष साउनमा खाद्य र पेय पदार्थमा ८ दशमलव ९० प्रतिशत र गैर–खाद्य वस्तुको मूल्यमा ६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको थियो ।

विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक

नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।

आव २०८१/८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ ।