गितेन्द्र कसरी बने जीबी, कसरी सुरु भयो ठगी धन्दा ?

गितेन्द्र कसरी बने जीबी, कसरी सुरु भयो ठगी धन्दा ?



काठमाडौं । सहरमा यतिबेला कसैको चर्चा छ भने गितेन्द्रबाबु (जीबी) राईको छ । ‘राष्ट्रिय ठग’ उपनाम पाएका जीबी ओखलढुंगा सुनकोशी गाउँपालिका–१ का हुन् । उनको बुवा दिपहरि राई २०७४ को स्थानीय निर्वाचनमा ओखलढुंगा सुनकोशी–१ बाट एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका–१, साबिक बलखु गाबिस हो। यो गाबिस नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा परिचित छ। त्यसबेला यही सहकारीको पैसा व्यापक दुरुपयोग गरी दिपहरि राई निर्वाचित भएको चर्चा चलेको थियो। उनले वडाध्यक्ष निर्वाचित हुन झण्डै ८० लाख रुपैयाँ खर्च गरेको तथ्यांक त्यसबेला बाहिर आएको थियो। दिपहरिका बुवा प्रधानपन्च थिए ।

जीबीका बुवा दिपहरिले दुईवटी श्रीमति विवाह गरेका थिए । जेठी श्रीमतिपट्टिबाट जीबी कान्छा छोरा हुन् । जेठी श्रीमतिपट्टि राईका तीन छोरा छन् । कान्छी श्रीमतिपट्टि भने एकजना छोरी मात्र छिन् । जीबी राईको मावली घर सिन्धुलीको फिक्कल गाउँपालिका–५ मा पर्छ । दिपहरिले अन्तरजातीय विवाह गरेका हुन् । जीबी राईको मावली घिमिरे हुन् ।

जीबीले एसएलसीसम्म गाउँकै कालिका माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए । त्यसपछिको अध्ययनको लागि उनी काठमाडौं आए । काठमाडौंमा उनका जेठा दाजु अनन्तबाबु राई बस्थे । उनी दाईसँगै बसे ।

जीबी राईको जेठो दाइले बागबजारमा ‘सिचुएसन ल्याङ्ग्वेज इन्सिच्युट’ सञ्चालन गरेका थिए । उक्त इन्स्टिच्युटको काउन्टरमा जीबीले दाइको सहयोगी भएर काम गर्दथे ।

सोही क्रममा निशा भनिने भगवती बम्जन अंग्रेजी भाषा पढ्न–सिक्न आइन् । त्यही इन्स्टिच्युटमा भगवतीको जीबी राईसँग चिनजान हुँदै मायाप्रेम भई सम्बन्ध गाढा बन्दै गयो । अन्ततः उनीहरुको मायाप्रेम भागी विवाहमा रुपान्तरण भयो ।

यता, बम्जन परिवारले जीबी र भगवतीको वैवाहिक सम्बन्धलाई लामो समयसम्म स्वीकार गर्न सकेन । किनभने जीबीले पहिल्यै विवाह गरेर ओखलढुंगा घरमा श्रीमति राखेका थिए । उनका एक छोरासमेत जन्मिसकेका थिए । पछि बम्जन परिवारले विस्तारै स्वीकार गर्दै गयो । भगवतीले माइती खलकसँग जीबीलाई जोड्दै लगिन् ।

जीबी राई नेटवर्किङ व्यवसायमा प्रवेश
नेटवर्किङ र सहकारी ठगीअघि उनी २०५६ सालदेखि २०५८ सालसम्म हङ्कङबाट सञ्चालित गोल्डक्वेष्ट नामको कम्पनीको गैरकानूनी धन्दामा संलग्न भएका थिए । उक्त कम्पनीले सुनको सिक्का दिने भन्दै गैरकानूनीरूपमा नेटवर्किङ मार्फत धन्दा गरेको यसअघि नै पुष्टि भइसकेको छ ।

गोल्डक्वेष्टको धन्दामा उनकै दाजु अनन्तबाबुले नै भाइ जिबीलाई प्रवेश गराएका थिए । अनन्तले स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार गर्ने भन्दै २०६१ सालमा हर्बोसहित केही अरु नेटवर्किङ कम्पनी स्थापना गरे । उनले आफूलाई संस्थापक निर्देशक र माइलो भाइ देबेन्द्रबाबु राई र कान्छो गीतेन्द्रबाबु (जीबी) लाई नेटवर्किङ व्यवसायमा लाग्ने, पढ्ने–पढाउने तथा संगठन बनाएर काम गर्न सुरु गरे ।

नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलसँग जोडिएपछि जीबीको ठगी धन्दा त्यँहीबाट सुरु भएको देखिन्छ । २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी स्थापना गरेर उनी नेटवर्किङ व्यवसायमा पूर्ण रुपमा लागेका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा सरकारले उक्त व्यवसायमा प्रतिबन्ध लगाएपछि जीबीले सोही नेटवर्क प्रयोग गरी देशका विभिन्न स्थानमा करिब दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए ।

सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम गैरकाननूनी रुपमा दुरुपयोग गरी नेचर हब्र्स, नेचर नेष्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका थिए ।

सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानूनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ व्यवसायमा रहेका र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको देखिन्छ ।

जीबी राईको सहकारीमा प्रवेश
ज्ञानबहादुर बम्जन (भगवती बम्जनको दाइ) जेठानले २०६७ सालमा जीबीलाई पोखराको सूर्यदर्शन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को कर्मचारी बनाए । जेठान ज्ञानबहादुर बम्जन सूर्यदर्शन सहकारीको अध्यक्ष थिए । हर्बोबाट खासै कमाउन नसकेका जिबीले सूर्यदर्शनमा सामान्य कर्मचारीका रुपमा काम थालेका थिए ।

जीबी यति चतुर भएर निस्के कि पछि सो सहकारी आफैंले कब्जा गरे । अन्ततः ज्ञानबहादुर सहकारी नै ज्वाईँ जीबीलाई जिम्मा लगाउन बाध्य बने । त्यहीबेला जीबीको राजनीतिक हिमचिम माओवादीका डेपुटी कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ का कान्छा छोरा दिपेशकुमार पुनसँग भयो । उनकै सहयोगमा जीबी राईले वातावरण बनाई पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेदको मुद्दा जिते । त्यसको लागि हेलिकप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगा दिपेश र जीबी सँगै पुगेका थिए ।

त्यसबेला ३० लाख रुपैयाँ दिएर जेठी श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको भन्ने चर्चा चलेको थियो । तर १५ लाख रुपैयाँ पनि पूरा नदिएको जीबी राईको पहिलो श्रीमतिले बताइन् । उनीहरुको एउटा छोरा यतिबेला प्लसटु अध्ययन गरिरहेको छ ।

उक्त मुद्दा जिताएवापत् ‘बक्सिस’ का रुपमा जीबीले दिपेशहरुको टोलीलाई पोखरास्थित फुलबारी रिसोर्टमा पार्टी दिएका थिए । १० लाख रुपैयाँ खर्चको सीमा दिइएको उक्त पार्टीमा ४ लाख ९० हजार रुपैयाँ मात्र खर्च भएको थियो ।

जीबी र दिपेशको सम्बन्ध त्यत्तिमा मात्र सीमित रहेन । दिपेश विस्तारै जीबीको व्यवसायिक साझेदार पनि बने । गिट्टी, बालुवा खानी उत्खनन् र क्रसर व्यवसायको साझेदार रहेका कैलाश दर्लामी मगरलाई पनि दिपेशले सहकारीमै ल्याए । आफू निकट मान्छे सहकारीमा राख्नका लागि सुप्रिम सेभिङ्ग को–अपरेटिभ लि. बुटवलमा दिपेश आफै सचिव बने ।

खासमा दिपेशको ठूलीआमाको छोरी बहिनी ज्वाइँ मनोज घर्तीमगरलाई पहिले सुप्रिम हेर्ने जिम्मा दिने निर्णय भएको थियो । तर बुवा पुनः उपराष्ट्रपति भएपछि मनोजलाई प्रेस संयोजकमा नियुक्ति गरियो । अनि रामेछापका कैलाश दर्लामी मगरलाई पोखरा पु¥याएर सूर्यदर्शन सहकारीको उपाध्यक्ष राखियो ।

सूर्यदर्शन सहकारीको बचत रकम हिनामिनाको अभियोगमा कैलाश अहिले पोखरा कारागारमा छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का बहालवाला वडाध्यक्ष कैलाश नेकपा माओवादी केन्द्रको तर्फबाट २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

कैलाशको यतिसम्मको उच्च ‘हाइफाइ’ थियो कि छोरीको अन्नप्रासन (भात खुवाई) कार्यक्रमसमेत होटल हायत रिजेन्सीमा गरिएको थियो । उक्त कार्यक्रममा ठूला ठेकेदार, मन्त्री, भिआईपी र आफन्तहरुको ठूलो जमघट थियो ।

सहकारी र नेटवर्क खडा गरी १६ अर्ब संकलन
जीबी राईले जीबी ग्रुप अफ कम्पनीज् प्रा.लि., गोर्खा ग्रुप अफ कम्पनी लि., नेचर हब्र्स प्रा.लि., नेचर नेष्ट प्रा.लि, हर्बो इन्टरनेशनल प्रा.लि., गोर्खा आयुर्वेद प्रा.लि., गुप्सी टि–इस्टेट प्रा.लि., गोर्खा मिडिया नेटवर्क प्रा.लि.लगायतका विभिन्न कम्पनीलगायत ३२ वटा कम्पनी सञ्चालन गरिरहेका छन् ।

जीबी राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनीज् खोलेको थिए ।

स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी, काठमाडौंको ३ अर्ब, सूर्यदर्शन बचत तथा ऋण सहकार संस्था, पोखराको १ अर्ब ५५ करोड, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलको १ अर्ब ५१ करोड, सानो पाइला बचत तथा ऋण सहकारी, बीरगन्जको १ अर्ब २० करोड, साहारा चितवन बहुउद्देश्यीय सहकारीको ७९ करोड ५५ लाख, हाम्रो नयाँ कृषि सहकारी काठमाडौंको ४५ करोड रुपैयाँ जीबीकै कारण जोखिममा परेको छ ।

सहकारी ठगी प्रकरणमा दोषी भनिएपछि फरार रहेका जीबीसँग ठगीको दुई दशक लामो अनुभव रहेको छ । अब उनको ठगीको सिलसिला यहीँ रोकिन्छ कि अर्को कुनै रुपबाट अगाडि बढ्छ, त्यो भने आगामी दिनमा देखिने छ ।