उखु र दूध किसानको बक्यौता तिर्न झन्डै २ अर्ब रुपैयाँ निकासा

उखु र दूध किसानको बक्यौता तिर्न झन्डै २ अर्ब रुपैयाँ निकासा



काठमाडौं । दूध तथा उखु किसानको बक्यौता तिर्न झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ वटा जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि सम्बन्धित जिल्लामा पठाएको छ ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी आज सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने बाँकी अनुदानको रकम सम्बन्धित जिल्लालाई पठाएको हो । सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम बाँडफाँट स्वीकृत पाएको छ । योसँगै उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दशैँअघि नै पाउने भएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध तथा उखु किसानलाई दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता गर्दै आउनुभएको थियो । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव यसअघि नै स्वीकृत भएको थियो ।

दूधको बाँकी भूक्तानीका लागि प्रक्रिया पूरा भएको र सरकारले ऋणबापत दिएको ६० करोड रुपैयाँ दशैँअघि नै वितरण शुरू हुने डीडीसीले जनाएको छ ।