जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता



टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनीकरणका लागि राष्ट्रव्यापी रूपमा चेतावनी जारी गरिएको छ ।

जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो ।

अधिकारीहरूले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन् । बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शङ्कास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ ।

जापानका विभिन्न क्षेत्रमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्‍याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिबद्धता जनाएको छ ।