‘धनराज र ऋषिकेश सहकारी ठगीमा संलग्न छैनन्’

‘धनराज र ऋषिकेश सहकारी ठगीमा संलग्न छैनन्’


ग्लोब नेपाल
297
Shares

काठमाडौं । सहकारीको बचत अपचलन हिनामिना छानबिन गर्न गठित संसदीय समितिका सभापति एवं एमाले सांसद् सूर्यबहादुर थापाले काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा दोषी नदेखिएको दाबी गरेका छन् ।

उनले धनराज पत्नी ज्योति गुरुङ र पोखरेल पत्नी अञ्जला कोइरालामाथि ठगीको आरोप लागेको बताए । आफूहरुलाई ४० वटा सहकारीको बचत अपचलनबारे छानबिन गर्न भनिएको भन्दै उनले गुरुङ र पोखरेल संलग्न भनिएका सहकारीको छानबिन गर्ने कार्यादेश (टिओआर) नभएको बताए ।

यद्यपि गुरुङ पत्नी ज्योती प्रबन्धक रहेको ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी संस्थाको स्थलगत अध्ययनमा गएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग जानकारी लिएको थापाले उल्लेख गरे ।

एमाले सांसद पोखरेलको मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा नाम मुछिएको छ । सहकारीले ०७५ सालमा गरेको आन्तरिक छानबिनबाट ज्योतीले १२ करोड ५० लाख बचत हिनामिना गरेको निस्कर्ष निकालिएको र त्यसको एक वर्षपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको तर्क थापाको थियो ।

‘ऋषिकेश पोखरेल र धनराज गुरुङको विषय हाम्रो टीओआरमा थिएन’, थापाले भने, ‘तर, कुरा बाहिर आइसकेपछि हामी स्थलगत अनुगमनमा गएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग वास्तविकता बझ्ने काम गरेका हौं ।’

सहकारी ठगीमा संलग्न सत्तारुढ काँग्रेस–एमालेमा नेतालाई जोगाउन रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लागेको छ ।

एमाले सांसद पोखरेलको उमा गौरी कृषि सहकारी संस्थाको संस्थापक सदस्य हुन् । सहकारीकी सञ्चालक पोखरेल पत्नी अञ्जलामाथि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट पीडितको जग्गा धितो राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको तथा बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार फिर्ता नगरेकोमा विवादमा आएकी छन् ।

काँग्रेस उपसभापति गुरुङ मितेरी सहकारी संस्थाको रकम घोटालामा मुछिएका छन् । धनराज र सोही सहकारीकी महाप्रबन्धक उनकी पत्नी ज्योतीसहितले साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव वोधविक्रम थापाले गत भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका थिए ।