हिजबुल्लाहलाई आर्थिक सहयोग गर्ने समूह लक्षित आक्रमण

हिजबुल्लाहलाई आर्थिक सहयोग गर्ने समूह लक्षित आक्रमण



तेल अभिभ । इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोपमा एक समूहलाई लक्षित गरी मिसाइल आक्रमणको नयाँ शृङ्खला सुरु गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि आइतबार, इजरायलले उत्तरी गाजाको बेत लाहियामा आक्रमण गर्दा ७३ जनाको मृत्यु भएको तथा अझै कैयौँ जना भग्नावशेषमुनि पुरिएको अल जजिराले समाचारमा उल्लेख गरेको छ ।

उद्धार कार्य जारी रहेको जनाउँदै मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ ।

१६ दिने इजरायली सैन्य घेराबन्दीका कारण गाजामा खाना, पानी र औषधिलगायतका अत्यावश्यक सेवाको पहुँचबाट विमुख भएकाले उत्तरी गाजाको अवस्था भयावह बनेको छ ।

यद्यपि, इजरायली सेनाले उत्तरी गाजामा हालैको आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासको दाबीमा शङ्का व्यक्त गर्दै उक्त आँकडा “अतिरञ्जित’’ भएको जनाएको टाइम्स अफ इजरायलले जनाएको छ ।

यहुदी राज्यको उत्तरी क्षेत्रमा लेबनानी सशस्त्र समूहले प्रहार गरेको रकेटको जवाफमा इजरायलले लेबनानको बेरुतमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ । रिपोर्टअनुसार इजरायलको सेनाद्वारा लेबनानमा गहन अपरेसन गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घरलाई निसाना बनाई ड्रोन प्रहार गरेपछि आक्रमणको शृङ्खला बढ्दै गएको हो । त्यसको जवाफमा नेतान्याहुले इरानको हिजबुल्लाहलाई ‘गम्भीर गल्ती’ गरेको भन्दै चेतावनीसमेत दिएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री नेतान्याहुले ‘हत्या’ प्रयासले इजरायललाई आतङ्कवादी ‘उन्मूलन’ गर्नबाट नरोक्ने बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार शनिबार लेबनानबाट प्रहार गरिएका अन्य दुई ड्रोन इजरायलद्वारा खसालिएका थिए ।