प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च



जेनेभा । लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भई ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनले जनाएको छ ।

युएनडिपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताएका छन् ।

सन् २०२३ को अन्त्यमा ३८.८ प्रतिशत रहेको गरिबीको दर यस वर्ष २.६१ मिलियन प्यालेस्टिनीहरू गरिबीमा पर्दा गरिबीको सङ्ख्या ४.१ मिलियनमा पुगेको जनाइएको छ । यो विनाशले प्यालेस्टाइनलाई विकासको मार्गमा दशकौँ पछाडि पारेको स्टेनरले उल्लेख गरेका छन् ।

योसँगै यो वर्ष प्यालेस्टिनी क्षेत्रमा बेरोजगारीदर ४९.९ प्रतिशतले बढ्ने र गाजामा जीडीपी ३५.१ प्रतिशतले कम हुने अध्ययनले जनाएको छ ।

उहाँका अनुसार प्रत्येक वर्ष मानवीय सहायता प्रदान गर्न सकिएमा प्यालेस्टिनी अर्थव्यवस्थालाई छिटै सङ्कटमुक्त गर्न सकिने सम्भावना भने अझै जीवितै छ ।