रवि लामिछानेलाई प्रहरी हिरासतमा मानसिक दबाब दिइयोः रास्वपा

रवि लामिछानेलाई प्रहरी हिरासतमा मानसिक दबाब दिइयोः रास्वपा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी हिरासतमा राखेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले शनिबार राति जारी गरेको विज्ञप्तिमा लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको आरोप लगाइएको छ । रास्वपाले राजनीतिक प्रतिशोध त्यागी लामिछानेलाई अबिलम्ब रिहाइको माग गरेको छ ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ ।

आन्दोलन सञ्चालनका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय भएको झाले बताए । यस्तै राजनीतिक नागरिक संवादका लागि अर्का उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा छ ।

सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने रास्वपाले जनाएको छ ।

विपिनकुमार आचार्य नेतृत्वको स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिने र पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि नियमित गर्ने निर्णय रास्वपाले गरेको छ ।