पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइएको छ ।
रास्वपाका सभापति लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ । मंगलबार बयान पूरा नभएको हुनाले आज बयान सक्ने गरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिएकी छन् ।
कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिएका छन् ।
अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’
प्रतिक्रिया