काठमाडौं । एमाले उपहमासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै दलका नेता कार्यकर्ताकै छोराछोरी रवि लामिछाने र बालेन शाहको समर्थनमा रहेको बताएका छन् ।
एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार गरेको देउसीभैलो कार्यक्रममा गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको र बालेन साहको साइबर ग्रुपमा रहेको खुलासा गरे । उनीहरुले नै प्रधानमन्त्रीको विरोधमा लेखिरहेको उनको भनाइ थियो ।
‘हाम्रा छोराछोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, उनीहरु नै हाम्रो पार्टी विरुद्धमा, प्रधानमन्त्रीविरुद्धमा लेखिरहेका छन्’, उनले भने ।
एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भने पनि उनीहरु कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ थियो । अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरु अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरुमा बाँडिएको बताए ।
देशैभरि छोराछोरी अखिलमा र युवा संघमा हुनुपर्छ भने पनि उनीहरु कता छन् भन्ने पार्टीलाई थाहा नभएको बताए । नयाँ पुस्ता आफूहरुसँग नभएको उनले उल्लेख गरे ।
प्रतिक्रिया