काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंहले कायरोमा आयोजित विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
उपप्रधानमन्त्री सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिदाइ गरे । वर्ल्ड अर्बान फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ। उपप्रधानमन्त्री सिंहले उक्त फोरममा शहरी विकाससम्बन्धी तीन वटा सत्रमा सम्बोधन गर्ने तालिका छ।
उनले नेपालको बस्ती विकासका क्रममा भोगिएका चुनौतीहरू, जलवायु परिवर्तनका प्रभावहरू तथा यस क्षेत्रमा हासिल गरिएका सफलताहरूबारे आफ्नो मन्तव्य व्यक्त गर्नेछन् । नोभेम्बर ४ देखि ८ सम्म कायरोमा सञ्चालन हुने यस कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय समुदायसँग बस्ती विकासमा सहकार्यका सम्भावनाहरू पनि छलफल गर्नेछन् ।
उपप्रधानमन्त्री सिंहको स्वदेश फर्कने कार्यक्रम आगामी शनिबार बिहान साढे १० बजेका लागि तय भएको छ ।
प्रतिक्रिया