आज मंगलवार अमेरिकामा ४७ औं राष्ट्रपति चुन्नका लागि आम निर्वाचन हुँदैछ। नेपालका सर्वसाधारण र आम नागरिकलाई अमेरिकी राष्ट्रपति निर्वाचनको चासो त्यति धेरै नरहन सक्छ तर नीति निर्माता र अर्थ व्यवस्थाको निर्णायक तहमा बसेका सचेत एवं विश्व एक भूगोलको गाउँ भन्नेहरुका लागि अमेरिकी मतदाताले आगामी चार वर्षका लागि कस्तो नेता चुन्ने हुन् भन्ने आम चासो रहेकै हुन्छ र रहनु पनि पर्छ। किनकी अमेरिका विश्वशक्ति राष्ट्र हो जसको एक निर्णयले समग्र जगतमा निर्णायक हलचल ल्याउन सक्छ।
रिपब्लिकन पार्टीका तर्फबाट मैदानमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षपछि फेरि ओभल अफिस फर्केलान् कि चार वर्ष पहिले उप राष्ट्रपतिको रुपमा निर्वाचित भएर ओभल अफिस पुगेकी पहिलो महिला र अश्वेत उपराष्ट्रपति कमला ह्यारिस अब पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएर इतिहास रच्लिन् ? यसको जवाफ आजको मतदानले दिनेछ।
अमेरिकामा गरिएका मत सर्वेक्षणहरु तथ्यपरक नै हुन्छन्। पछिल्ला र अन्तिम सर्वेक्षणहरुमा यो पटकको चुनाव निकै प्रतिष्पर्धी रहेको देखिएको छ। यस अर्थमा पूर्व अनुमान गलत हुन सक्ने सम्भावना पनि छ। सन् २०१६ मा भएको निर्वाचनका सर्वेक्षणहरुमा हिलारी क्लिन्टनले चुनाव जित्ने अनुमान गरिएको थियो। तर निर्णायक मतदानमा कुनै बेला हिलारीलाई नै सहयोग गरेका व्यापारी डोनाल्ड ट्रम्पले जित हासिल गरे। यद्यपि लोकप्रिय मतमा चाहिं हिलारी नै विजेता बनिन्। लोकप्रिय मत जिते पनि राष्ट्रपति निर्वाचित हुन नसक्नु चाहिं राष्ट्रपति निर्वाचन सम्बन्धी इलेक्टोरल कलेजको व्यवस्थाका कारण हो। इलेक्टोरल कलेज नै निर्णायक मत हुनाले लोकप्रिय मतले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्न सक्दैन। पछिल्ला सर्वेक्षण अनुसार, कमला ह्यारिस झिनो मतले निर्वाचित हुन सक्छिन्।
के हो इलेक्टोरल मत ?
सामान्य अर्थमा यो निर्वाचक मण्डलीको मत हो जसले आम मतदाताको प्रतिनिधित्व गर्छन्। तर यस्तो प्रतिनिधि भोट बुझ्न अमेरिकाको राजनीतिक व्यवस्थालाई पनि गहिरो अध्ययन गरेको हुनुपर्छ। अमेरिकाले लोकतान्त्रिक पद्धतिलाई बलियो,पारदर्शी र सबैको अपनत्व महसुस हुने गरी आफ्नो नेतृत्व चयन गर्न यस्तो निर्वाचक मण्डलीको व्यवस्था गरेको छ जसले गर्दा सधैं उही पार्टी र नेतृत्व मात्र रहन सक्दैन र नेतृत्व निरङ्कुश बन्न पनि सक्दैन भन्ने अमेरिकी विश्वास हो । एक किसिमले यो नियन्त्रणमुखी व्यवस्था पनि हो। अमेरिकी राष्ट्रपति निर्वाचित हुनका लागि कूल ५३८ इलेक्टोरल मतको व्यवस्था छ। यसमध्ये २७० मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छन्। यो इलेक्टोरल मत ५० वटै राज्यको जनसंख्याको आधारमा तय गरिएको छ।
जसमा संघीय राजधानी शहर वासिंगटन डिसीलाई ३ जना इलेक्टोरल कलेज निर्वाचित गर्ने अधिकार छ। जुन राज्यमा जसले बढी प्रत्यक्ष मत जित्छ त्यो राज्यको इलेक्टोरल मत पनि उसैले जित्ने व्यवस्था छ। कतै यो हाम्रो देशको निर्वाचन प्रणालीको समानुपातिक मत जस्तै पो हो कि भन्ने पनि लाग्न सक्छ जहाँ प्राप्त मतभार बाँडिन्छ तर इलेक्टोरल कलेजमा मत बाँडिन्न। अधिकांश राज्यमा कसले बढी मत ल्याउँछ भन्ने एक किसिमको पूर्व निर्धारित नम्वर नै छ। तर अमेरिकामा केही त्यस्ता राज्य पनि छन् जसको मतले मात्र विश्वशक्ति राष्ट्रको राष्ट्रपति निर्वाचित गर्ने निर्णय गर्दछ।
त्यस्ता राज्यलाई अमेरिकामा स्वींग स्टेट-ब्याटलग्राउण्ड स्टेट भनिन्छ। यी कूल ७ राज्यमा रहेका ९३ इलेक्टोरल मत नै राष्ट्रपति निर्वाचित गराउने निर्णायक मत हुन्। पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा राज्य ४७ औं राष्ट्रपति निर्वाचित गर्ने निर्णायक राज्य हुन्, जहाँ ९३ इलेक्टोरल मत छ। यी राज्यबाट सबैभन्दा बढी मत जसले ल्याउन सक्छ इलेक्टोरल मत पनि उसैको बढी कायम गरिन्छ र त्यही उम्मेदवार विजयी हुन्छ।
जस्तो कि पेन्सिलभेनिया राज्यमा १९ इलेक्टोरल मत छ। यो राज्यबाट कमला वा ट्रम्प जसले १ मत मात्र भए पनि बढी ल्याउँछ सबै १९ इलेक्टोरल मत नै उसैको बढी गणना गरिन्छ। जसका कारण २०१६ मा हिलारी क्लिन्टनले कूल ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेता पनि यही पेन्सिलभेनियामा कम मत आउँदा १९ वटै इलेक्टोरल कलेजको मत गुमाएका कारण विजयी हुन सकिनन्।
कहाँ छिन् कमला ? नेपाली भाषी र मूलका मतदाता निर्णायक बन्दै
पछिल्लो सर्वेक्षण अनुसार, जमैकन मूलका बाबु डोनाल्ड ह्यारिस र भारतीय मूलकी आमा श्यामला गोपालनकी जेठी छोरी कमलादेवी ह्यारिस व्यापारी डोनाल्ड ट्रम्पभन्दा झिनो मतले अगाडी छिन् र जसले जिते पनि जित्नका लागि निर्णायक मध्ये पनि निर्णायक मत पेन्सिलभेनिया राज्यको रहनेछ । कमला ह्यारिस दक्षिण एशियाली मूलकी पहिलो महिला हुन् जसले पेन्सिलभेनिया जित्नका लागि कडा मेहनेत गरेकी छिन्।
यद्यपि ट्रम्पले पनि यो राज्यलाई आफ्नो निर्णायक राज्यको पहिलो सूचीमा नै राखेका छन्। १९ जनाको इलेक्टोरल मत जित्न यसपटक पेन्सिलभेनियामा बसोवास गर्ने नेपाली भाषी र मूलका भुटानी-नेपालीहरुको मत निर्णायक हुने अनुमान छ। २ दशमलव ८ प्रतिशत इलेक्टोरल मत एसियाली मूलका मतदाताबाट प्राप्त हुने यस राज्यमा २०१०-२०२० को अवधिमा ५५ प्रतिशत एसियाली मूलका मतदाताहरु बढेका छन्। यसो हुनुमा नेपाली भाषी भुटानीहरुलाई यहाँका विभिन्न शहरमा स्थानान्तरण गरिनु प्रमूख कारण हो।
तसर्थ यसपटक यिनै नेपाली भाषी र मूलका अमेरिकी मतदाताहरु नै अमेरिकी राष्ट्रपति निर्वाचित गराउने निर्णायक मतदाता बन्दैछन्। भारतीय मूलका अमेरिकीहरु पनि धेरै रहेको यस राज्यमा भारतीय मूलकी चेली कमलाले निर्णायक मत ल्याउने सम्भावनालाई बेवास्ता गर्न सकिन्न। कमलालाई राष्ट्रपति जित्नका लागि बाँकी ९३ इलेक्टोरल कलेजको मत रहेका राज्यबाट कम्तीमा ४५ मत जित्नु आवश्यक देखिएको छ भने ट्रम्पले ५१ मत जित्नुपर्ने सर्वेक्षणहरुले देखाएका छन्। यसैले १९ मत रहेको पेन्सिलभेनिया र त्यसभित्रका करीब २ दशमलब ८ प्रतिशतको इलेक्टोरल मतको हिस्सा ओगट्ने एसियन मूलका मतदाताहरु निर्णायक हुन्।
यसैगरी चार करोड बीस लाखभन्दा धेरै अश्वेत अमेरिकीहरूको भोट पनि निर्णायक रहेको छ। जहाँ कमलाले ‘लिड’ गरेकी छिन्। कमला ह्यारिस ६५ प्रतिशतको हाराहारीमा रहेका अमेरिकी मध्यमवर्गीय,अश्वेत/अप्रवासी, महिला र उदारवादीहरुको मत जित्दै छिन् भने कट्टरवादी पुरातनपन्थी श्वेत अमेरिकीहरु ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) को ट्रम्पको अनुदारवादी र उग्र राष्ट्रवादी नाराका पक्षमा छन्। कमला ह्यारिस महिला मतदाताका बीच अगाडी छिन् जहाँ उनले महिलाको शरीरमाथिको अधिकार महिलामा नै हुने भन्दै गर्भपतन सम्बन्धी अधिकार महिलामा नै सुरक्षित हुने कानुनको वकालत गरिरहेकी छिन्।
मंगलवार अमेरिकी मतदाताले राष्ट्रपति मात्र निर्वाचित गर्ने छैनन् संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेंटेटिभ्स र एक सय सदस्य रहेको माथिल्लो सदन सिनेटको ३३ सदस्यका लागि पनि नेतृत्व निर्वाचित गर्दैछन्। तर सबैको ध्यान विश्वको शक्तिशाली सेनाको कमान्डर इन चिफ समेत हुने अमेरिकी राष्ट्रपति निर्वाचनतर्फ नै केन्द्रीत छ।
स्वीकार्ला त अमेरिकाले महिला नेतृत्व ?
कमला ह्यारिसले जितिन् भने अमेरिकाले अर्को नयाँ इतिहास रच्नेछ। रंगभेद,लिंगभेद,जातिभेद जस्ता विभेदको अन्तका लागि जे जस्तो कानुनी व्यवस्था गरेता पनि अमेरिकाले महिललाई नेतृत्वको बागडोर सुम्पेको इतिहास छैन। एक सय चार वर्ष मात्र भयो महिलालाई मताधिकार प्रदान गरेको अमेरिकाले। यो एक सय ४ वर्षपछि एक अश्वेत-एसियन आप्रवासी मूलकी चेली पहिलो महिला राष्ट्रपतिको दौडको निर्णायक क्षणमा छिन् जहाँ अधिकांश महिला मतदाता कमलालाई अनुमोदन गर्न उत्साहित छन्। यसपटक कूल १६ करोड ६४ लाख अमेरिकीहरुले मतदानका लागि आफ्नो नाम दर्ता गरेका छन् भने सोमवारसम्म आधाभन्दा बढी मतदाताले आ आफ्नो मत अधिकारको प्रयोग गरिसकेका छन्। नोभेम्वर ५ तारिख अन्तिम दिन भएतापनि अर्ली भोटिंगको व्यवस्थाको सदुपयोग गर्दै राष्ट्रपति बाइडेनले लाइन लागेरै मतदान गरे भने उप राष्ट्रपति ह्यारिसले हुलाकमार्फत मतपत्र पठाएर आफ्नो मत प्रदान गरिन्।
नेपालको राजनीतिक इतिहासमा पहिलो महिला राष्ट्रपति, सर्वोच्च अदालतमा पहिलो प्रधानन्यायाधीश बनाएर नेपालले गर्व गर्ने आफ्नो हैसियत बनाइसकेको छ तर अमेरिकामा सर्वोच्चको न्यायाधीश महिला बन्नका लागि बाराक ओबामा नै राष्ट्रपति बन्नुपर्यो। जीवनभर अमेरिकीहरुको अधिकारको लागि लडेकी श्वेत हिलारी क्लिन्टन प्रथम महिला र विदेशमन्त्री बनिन् तर अमेरिकीहरुले विश्वको शक्तिशाली सेनाको कमान्डर इन चिफ बन्न महिलाको मुटू दह्रो हुनुपर्छ भन्दै राष्ट्रपति बन्न हिलारीलाई वन्चित गरे। अहिले हिलारीदेखि बाराक ओबामासम्म अनि आफुले नै कमलामा उनले चाहेको जेसुकै बन्ने क्षमता छ भन्दै आफ्नो उपराष्ट्रपति छनौट गरेका वर्तमान राष्ट्रपति जो बाईडेनसम्म कमलालाई निर्वाचित गराएर आधुनिक अमेरिकी राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने अनवरत प्रयासमा जुटेका छन्। राष्ट्रपति बाइडेनले चार वर्ष पहिले आफ्नो ‘टीम मेट’ रोज्ने क्रममा भनेका थिए,-‘कमलामा उनले चाहेको जेसुकै बन्ने क्षमता छ। उनी मजबुत् छिन्। कुनै दिन राष्ट्रपति नै बन्न सक्छिन्।’
महाशक्ति राष्ट्रमा नयाँ राष्ट्रपति आउँदा त्यसको सिधा प्रभाव पर्नेछ। सबैभन्दा धेरै कूल ग्राहस्थ उत्पादन रहेको मुलुक, जसले लिने अर्थनीति, रणनीति र अन्तर्राष्ट्रीय सम्बन्धले विश्वलाई नै सिधा असर पर्नेछ। तर ट्रम्पको उग्र राष्ट्रवादको चर्को नारा र आप्रवासी लक्षित भाषणका कारण रुढीवादी अमेरिकीहरुले कुन बाटो तय गर्ने हुन् भन्ने अनुमान गर्न कठीन छ। किनकि ट्रम्पको विजय भनेको अमेरिकाले आफ्नो शालीन र सम्मानजनक शक्तिराष्ट्रको पहिचान गुमाउंदै उग्र राष्ट्रवाद, रङ्गभेद र जातीय हिंसाको चरम नारालाई अनुमोदन गर्नु हो। सम्भवत: अमेरिकी मतदाताहरुले त्यसो गर्ने छैनन्। हिलारीलाई पहिलो महिला राष्ट्रपति बन्नबाट बन्चित गरिसकेपछि पक्कै पनि अमेरिकीहरुले धेरै सिकेका छन्। त्यसैले यसपटक कमला ह्यारिसलाई पनि रोक्ने हो भने अमेरिका महिलालाई नेतृत्वमा पुर्याउन अझै तयार छैन भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न मद्दत पुग्नेछ भन्नेमा सचेत देखिन्छन् अमेरिकीहरु।
पछिल्लो एक सर्भेक्षण अनुसार, अश्वेत मतदातामध्ये अधिकांशको रोजाईमा कमला नै परेकी छिन। यसैगरी ३० वर्ष मुनिका युवा मतदाताका माझ पनि कमला नै ५७ प्रतिशतको रोजाईमा छिन् भने कलेज डिग्री हासिल गरेका ५५ प्रतिशत श्वेत मतदाताले पनि कमला नै राष्ट्रपतिका लागि योग्य उम्मेदवार भनेका छन्। महिला मतदाताका माझ कमला १६ प्रतिशतले अगाडी छिन् (कमला ५७% र ट्रम्प ४१%) भने स्वतन्त्र र ल्याटिनो मतमा पनि कमला अगाडी छिन्। उता ग्रामीण क्षेत्रका मतदाता, श्वेत र पुरुष मतदाता र कलेज डिग्री नभएका मतदाताका बीच ट्रम्प लोकप्रिय देखिएका छन्।
यस्ता आँकडा र अनुमानहरुका बीच पनि कमलाले जनवरी ६ तारिखमा अमेरिकी संसद्को दुवै सदनको संयुक्त बैठक (कंग्रेस) को अध्यक्षता गर्दै ४७ औं अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो नाम आफैंले प्रमाणित गर्ने पहिलो इतिहास रच्न सकिनन् भने अमेरिका अझै अनुदारवादी नै रहेको बुझिनेछ। अमेरिकी संसद्को दुवै सदनको संयुक्त बैठक उपराष्ट्रपतिको अध्यक्षतामा बस्ने प्रचलन छ। किनकि सिनेटको अध्यक्षता उप-राष्ट्रपतिले गर्छन् र यो संयुक्त बैठकले कूल इलेक्टोरल मतको परिणाम अनुमोदन गरेर नयाँ राष्ट्रपतिको औपचारिक घोषणा गर्नेछ। जनवरी ६, २०२१ मा आफ्नै उपराष्ट्रपति माइक पेन्स जसले संयुक्त संसदको बैठकको अध्यक्षता गरिरहेका थिए उनलाई आफु विजयी भएको प्रमाणित गर्न दवाब दिएका ट्रम्पलाई उपराष्ट्रपति पेन्सले आफुले कानुन र अमेरिकी जनताको अधिकार विपरित गर्न नसक्ने बताएपछि संसदमा नै आक्रमण गराएका थिए, जसलाई अमेरिकी संसद्को इतिहासमा कालो दिन भनेर सम्झने गरिन्छ ।
कमलाले यो जितबाट बन्चित हुनु पर्यो भने पनि उनको यो राजनीतिक उचाइको यात्राले तय गरेको सफलता अमेरिकामा हामी जस्तो आप्रवासी समुदायका दोस्रो पुस्ताका लागि राजनीतिक प्रेरणाको स्रोत बनेर रहनेछ ।
अब अमेरिकी मतदाताले प्रथम महिला राष्ट्रपति निर्वाचित गरेर इतिहास रच्लान् कि देशको कानुनको पालना समेत नगरी ३४ वटा विभिन्न गम्भीर प्रकृतिका मुद्दा खेपिरहेका र अन्तर्राष्ट्रीय सद्भाव र सम्मान समेत भत्काउन अग्रसर चरम उग्रवादी ट्रम्पलाई नै हाम्रा नेता भनेर चुन्लान् त्यसको लागि भने मंगलवार साँझसम्म प्रतीक्षा गर्नैपर्छ।
प्रतिक्रिया