प्रधानमन्त्री ओलीको विरोध गर्नेहरु निगरानीमा

प्रधानमन्त्री ओलीको विरोध गर्नेहरु निगरानीमा


ग्लोब नेपाल
567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा विरोध गर्नेहरुमाथि निगरानी बढाइएको छ । ओली सहभागी सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने तथा सामाजिक सञ्जालमा आधारहीन र चरित्रहत्या गर्ने खालका प्रचार गर्नेहरु प्रहरीको निगरानीमा छन् ।

ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, तथा युट्युबमार्फत घृणा फैलाउने गतिविधि बढेको निस्कर्षका आधारमा त्यसो गरिएको हो ।

ओली गत साता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न गएका थिए । त्यस क्रममा ओलीविरुद्ध दर्शक दिर्घामै रहेका युवाहरुले ‘देश छोड’ को नारा लगाएका थिए ।

गिरीबन्धु टी स्टेट, यति, ओम्नी बालुवाटार जग्गा प्रकरण, वाइडबडीजस्ता भ्रष्टाचार प्रकरण र पछिल्लो समय भाटभाटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन करोडौं मूल्यको ११ रोपनी जग्गा दानमा लिएको विषयलाई लिएर ओलीविरुद्ध सामाजिक सञ्जालमा आरोप लगाउने क्रम बढेर गएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले ‘आफू भैंसी दुहुन अमेरिका नगएको’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि सामाजिक सञ्जालमा बढेको ओलीविरोधी पारो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी गठी र संगठित अपराध कसुरमा पक्राउ परेपछि ह्वात्तै बढेको छ ।

प्रहरी उच्च अधिकारीका अनुसार साइबर ब्युरोले ओलीबारे अनर्गल प्रचार गर्नेमाथि निगरान बढाइएको छ । अश्लिल, आपत्तिजनक, आधारहीन र व्यक्तिगत चरित्रहत्या गर्ने प्रकृतिका प्रचार गर्नेमाथि प्रहरीले निगरानी बढाएको ती अधिकारीले बताए ।

त्यस्ता व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने तयारीमा प्रहरी छ । यद्यपि राजनीतिक प्रकृतिका टिप्पणी वा विरोध गर्नेमाथि भने कुनै धरपकड नहुने प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले बताए । ‘राजनीतिक भन्दा पनि अराजक र घृणा फैलाउन खोज्नेहरु निगनारीमा छन्’, उनले भने ।