काठमाडौं । छिमेकी देश भारतको बैंग्लोरमा एक नेपाली दम्पतीमाथि २४ करोड रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।
विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट २४ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन् ।
जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् । यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेको बैंग्लोरको पत्रिका डेकन हेराल्डले समाचार छापेको छ ।
नवराजले ६ महिनाअघि सहयोगका रुपमा स्टोरमा काम थालेका थिए । उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको उनले भनेका छन् ।
त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा उल्लेख गरीएको छ । सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो ।
त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर चोरी लगेको आरोप लगाइएको छ । डेकन हेराल्डका अनुसार, प्रहरीले उनीहरु नेपाल भागिसकेको आशंका गरेको छ । प्रहरीको एउटा टोली उनको खोजीका लागि नेपाल आएको भनिएको छ ।
प्रतिक्रिया