पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध

पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध



काठमाडौं । पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपनि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।

मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई र २६ टी-२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २७३ रन बनाउनुका साथै १२ विकेट लिएका छन् ।

मक्सुदले पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर कलन्दर्स र पेसार जाल्मी गरी चार टोलीबाट खेलिसकेका छन् । उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२१ अगष्टमा वेष्ट इन्डिज विरुद्ध अन्तिम टी२०आई खेलेका थिए ।

क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।