शेखरका यी दुई सांसदले कांग्रेसलाई कता लैजाँदैछन् ?

शेखरका यी दुई सांसदले कांग्रेसलाई कता लैजाँदैछन् ?



काठमाडौं । मूल्य, मान्यता र आदर्शविपरित गतिविधि गरिरहेका कांग्रेसका दुई सांसद यतिबेला चर्चामा छन् । मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित राजेन्द्र न्यौपाने उर्फ सुनिल शर्मा र गोरखा क्षेत्र नं. २ बाट निर्वाचित राजेन्द्र बजगाँई । पद नपाएपछि आफ्नै पार्टीका मन्त्रीविरुद्ध खुल्ला गालीगलौजमा उत्रेको हुनाले उनीहरु यतिबेला चर्चामा छन् ।

शर्मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध गाली गलौजमा उत्रेका थिए । दुईवटा अस्पतालका मालिक शर्माले स्वास्थ्य बिमाको ठेक्का नपाएपछि त्यतिबेला अर्थमन्त्रीको विरोधमा उत्रेका थिए । डा. राणाविरुद्ध चाहिँ आफूले मन्त्री पद नपाएको झोक सञ्चारमाध्यममा ओकलेका थिए । आफूविरुद्ध अपशब्द बोले पनि परराष्ट्रमन्त्री डा. राणाले चुपचाप सहिन । उनको प्रतिक्रिया थियो– ‘हलेदो भनेर थाहा पाएपछि किन कोट्याउनु ।’

डा. महत अर्थमन्त्री हुँदा नक्कली सर्टिफिकेट काण्डमा शर्मा पक्राउ परेका थिए । त्यसबेला उनको बचाउमा अर्का मेडिकल माफिया दुर्गा प्रसाई खुलेर लागेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शर्माको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । हिरासतबाट निस्कनेवित्तिकै उनी ओलीको आर्शिवाद लिन बालकोट पुगे।

डा. राणाले भनेजस्तै अर्को हलेदोको रुपमा गोरखाका सांसद बजगाँई देखापरेका छन् । उनी परराष्ट्रमन्त्री बद्री पाण्डेविरुद्ध गालीगलौज गर्दै सतहमा उत्रेका छन् । गालीगलौजले सीमा नाघेपछि मन्त्री पाण्डे कानुनी उपचारमा जाने भएका छन् । मन्त्री पाण्डेले भने, ‘मेरो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको छ, म यसको कानुनी उपचार खोज्ने छु ।’ इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मानमर्दन गर्ने गरी मनोबल गिराउन यस्तो हर्कत गरेको मन्त्री पाण्डेले बताए ।

पर्यटन व्यवसायीसमेत रहेका बजगाईँले पाण्डेमाथि करोडौं घुस लिएर क्यासिनोको लाइसेन्स दिएको आरोप लगाएका छन् । त्यसभन्दा अगाडि मन्त्री पाण्डेको हरेक गतिविधिको घोर विरोध गर्दै आएका बजगाँईले सामाजिक सञ्जालमा राखेको पोष्टमा धेरैले ‘यो जन्ममा मन्त्री हुने सपना नदेख’ भन्ने प्रतिक्रिया लेखेका छन् । बजगाँईले पर्यटन मन्त्री बन्न नपाएको कुण्ठा सामाजिक संजालमा पोख्दै आएका छन् ।

शर्मा र बजगाँई कांग्रेस नेता शेखर कोइरालाको सिफारिसमा सांसदको टिकट लिएका हुन् । सेवा क्षेत्रबाट अथाहा सम्पत्ति जोडेका दुई सांसदको गतिविधिले पार्टी सभापतिको तयारीमा जुटेका डा. शेखर कोइरालालाई ड्यामेज त गर्छ नै त्यसभन्दा अगाडि नै कांग्रेसलाई कुन रसातलमा पु-याउँछ भन्न सक्ने अवस्था छैन । अझ शर्मा त पार्टी महामन्त्रीको तयारीमा जुटेको बताउने गर्छन् ।

शर्मा र बजगाँईको कांग्रेससँग लामो नाता भने होइन । शर्मा ०६४ सालमा कांग्रेस बनेका हुन् । बजागाँई ७२ सालमा कांग्रेससँग जोडिएका हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निकालेको स्मारिकामा बजगाँई जन्मिनुभन्दा अगाडि नै नेविसंघको केन्द्रीय सदस्य भएको उल्लेख छ । २०३४ सालमा जन्मेका बजगाँई २०३२ सालमा नै नेविसंघको केन्द्रीय सदस्य भएको स्मारिकामा उल्लेख गरिएको छ ।

यी दुई पात्रले पार्टीको मूल्य, मान्यता, आदर्श र विधान चिन्दैनन् । उनीहरुले चिन्ने भनेको शेखर कोइराला मात्र हो । शेखरलाई गरेको लगानी उठाउन शर्मालाई स्वास्थ्य मन्त्रालय र बजगाँईलाई पर्यटन मन्त्रालय चाहिएको छ । शेखरको भागबाट मन्त्री नपाएपछि कांग्रेसका यी दुई सांसद सन्निपातको विरामीझै बर्बराउने गरेको तरुण दलका एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘यिनीहरुको बर्बराइले नेपाली कांग्रेसको हुर्मत मात्र लिएको छैन, जग हसाँउने काम भएको छ ।’

कसैले भनिरहनु पर्दैन, यस्ता पात्र दुईतिर काँधमा बोकेर शेखर कोइराला महाधिवेशनमा गएभने पराजित हुने निश्चित छ । कांग्रेसमा कोइरालाको विरासत जोगाउने शेखर कोइरालाको यो महाधिवेशन अन्तिम अवसर हो । यो अवसरलाई सदुपयोग गर्ने हो भने शर्मा र बजगाँई जस्ता काउसो टकटक्याएर फाल्न ढिला गर्नु हुँदैन ।