भारत कुनै हजरत निजामुद्दीन होइन, त्यसैले पहिला चीन जाँदैछुः ओली

भारत कुनै हजरत निजामुद्दीन होइन, त्यसैले पहिला चीन जाँदैछुः ओली


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो राजकीय भ्रमण उत्तर छिमेकी चीनबाट हुँदै गरेको विषयमा भारतले अन्यथा रुपमा लिन नहुने बताए ।

कान्तिपुर टेलिभिजनले हिजो बिहीबार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा बिहीबार बोल्दै ओलीले आफ्नो चीन भ्रमणलाई लिएर आशंका गर्न जरुरी नरहेको बताए । ओलीले भारत र चीन नेपालका महान् छिमेकी भन्दै दुवैसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्ने ओलीले प्रतिबद्धता जनाए ।

‘हाम्रा सम्बन्धहरु गहिरा छन्, पुराना छन् । प्राग ऐतिहासिक छन् । त्यसर्त हाम्रा छिमेकीहरुलाई पनि त्यस रुपमा लिन बुझ्न जरुरी छैन । त्यो हुँदैन’, ओलीले भने, ‘हाम्रा दुई महान, विशाल छिमेकी छन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । चीन जाँदा भारतसँग सम्बन्ध बिग्रिँदैन, बिग्रिने कारण छैन ।’

उनले पहिला चीन जानु भनेको भारत नजानु नभएको बताए । उनले यसलाई व्याख्या गर्ने क्रममा एउटा कथा हाले । ओलीको कथा यस्तो थियो ।

‘इस्लाम धर्माबलम्बीको अजमेर सरिफ दरगा भन्ने मन्दिर छ । मुस्लिमहरुको विश्वासको इश्लाम धर्मावलम्बीहरुको मन्दिर । तर त्यो मन्दिरमा दर्शन गर्न जानुभन्दा अगाडि दिल्लीको हजरत निजामुद्दीनको दर्शन गरेर मात्र त्यहाँ जानुपर्छ भन्छन् । यो मैले बुभेको छैन राजनीतिमा कुन चाहिं निजामुद्दीन हो, कुन चाहि अजमेर हो । यो म बुझ्दिन । हामी एउटा सोभरेन्ट (सार्वभौम) देश हौं । सोभरेन्ट देश भारत नजाने त भनेको छैन । जता अनुकूल पर्छ । अस्ती अमेरिका पुगेर आएँ म । अमेरिकामा थुप्रै देशका मानिसहरुसँग भेट भयो । मोदीजीसँग पनि भेट भो । चीनका विदेशमन्त्रीसँग पनि भेट भो । अरु जोजो त्यहाँ जानुभएको थियो धेरै देशका मानिसहरुसँग भेट भो मेरो । त्यो मैले पहिला अमेरिका जानुपर्छ भनेर छान्या होइन । संयुक्त राष्टसंघको ७९औं महासभा । महासंघको हेर्डक्वार्टर त्यहीं परेकाले त्यहीं गइयो । अब अमेरिका भनेको निजामुद्दीन रहेछ भन्ने भ्रम नपरोस् । कुनै अजमेर छैन हाम्रो लागि कुनै हजरत निजामुद्दीन छैन ।’

कार्यक्रमका सहजकर्ता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले प्रधानमन्त्रीको सपथ नेपालमा हुने भए पनि पहिलो भ्रमण भारतबाट हुने गरेको विगतको चर्चा गरे । उनले पहिलोपटक चीन भ्रमणमा जाँदा ०१३ सालमा मरिचमान सिंह र गणतन्त्र स्थापनापछिका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनबाट भ्रमण सुरु गरेका कारण उक्त सरकार गिरेको प्रसंगसहित ओलीलाई प्रश्न गरेका थिए ।

जवाफमा ओलीले खाना खान नजानेर मानिस मरेको अर्को कथा सुनाए । ‘एउटा मान्छे गला लागेर म-यो खाना खान नजानेर । बिहान पूजा गर्दाखेरि परीपाठ पुगेन भगवान रिसाए भन्न चाहिं मिल्दैन क्या । खाना खाँदाखेरि होसियारी साथ खाने । नअड्किने गरी पूजा गर्न जानेन भने पनि भगवान् त्यति सानो कुरामा सिराउने, उफ्रिने के युट्युबे हो ? भगवान भन्या ? ।’

यद्यपि ओली प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गर्न चाहन्थे । ओलीले परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाँदा उनीमार्फत समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रणको निम्तो पठाएका थिए । मोदीले समय मिलाएर आउने जवाफ दिए पनि ओलीलाई भने बोलाएनन् । गत महिना संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका पुगेका बेला ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गरे । उक्र भेटमा पनि ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिए । मोदीले त्यति बेला पनि उपयुक्त समयमा आउने जवाफ दिए । तर, ओलीलाई निम्ता दिएनन् ।

सामान्यतः कुटनीतिमा सरकार प्रमुख र राष्ट्र प्रमुखले भ्रमणको निम्तो दिएपछि निम्तो पाउनेले पनि बोलाउने प्रचलन छ । भारतले नबोलाएपछि प्रतिक्रियामा ओलीले चीन भ्रमण गर्न लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।