डा. महतले शुभारम्भ गरे गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति

डा. महतले शुभारम्भ गरे गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति


ग्लोब नेपाल
0
Shares

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराए ।

गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहदाँ रू एक अर्ब २० करोडको श्रोत सुनिश्चित गरेर ठेक्का लगाएको उक्त योजना सरकार परिवर्तनपश्चात कटौती हुदाँ दबाब र खबरदारी मार्फत बजेट पुनःबहाली गराउन सफल भएको स्मरण गराउदै अब कार्यान्वयनको पक्षमा कुनै कमजोरी हुन नदिन पूर्वमन्त्री डा. महतले सचेत गराए ।

“जनताको माग र देशको विकासको लागी तर्जुमा भएका योजना कार्यान्वयनसम्म ल्याउन निकै सङ्घर्ष गरेका छौँ,” नेता महतले भने, “कार्यान्वयनमा सडक डिभिजन र निर्माण व्यवसायीले सोहीअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ । लाभग्राही जनताले बाधा अवरोध नगरी सचेत भएर सहयोग पुर्‍याउनुपर्दछ ।”

आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको उक्त योजनामा बहुबर्षीय ठेक्का लगाएर गत फागुनमा नै काम सुरू हुनुपर्ने भए पनि कांग्रेस सरकारबाट बाहिरिए पश्चात योजना खारेजीको प्रक्रियामा पुगेको थियो । निरन्तरको खबरदारी र दबाबले पुनःबहाली भएको उक्त योजनाको कार्यान्वयनले यहाँको जनतामा आउने जीवनस्तरको परिवर्तनले ठूलो महत्त्व राख्ने पूर्वअर्थमन्त्री महतको भनाइ छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्ने लिखु गाउँपालिकाको ढिकुरे बजारबाट सुरू हुने उक्त योजना सूर्यगढी, तादीको छ । सडक निर्माणले जिल्लाको दुर्गम तथा पिछडिएको क्षेत्रको आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रको विकासमा चमत्कारी परिवर्तन ल्याउन सकिने उनले बताए ।

काठमाडौँ जोडिने हुँदा अहिले दुर्गममा रहेका भूगोललाई सिधैँ राजधानीसँग जोडेर विकासका विभिन्न आयामका परिवर्तन ल्याउन सकिने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख छ ।
सडक निर्माणको जिम्मेवारी महालक्ष्मी–अमृत–जलुकेनी–जेभीले तीन वर्षभित्र पूरा गर्न रू ६८ करोड ५६ लाखमा जिम्मेवारी पाएको छ । सडक स्तरउन्नति, चौडा विस्तार, ढल नाली तयार गरेर अस्फाल्ट प्रविधियुक्त कालोपत्र गर्न तोकिएको अवधिमा कुनै समस्या नभएको निर्माण व्यवसायी सुशील फुयाँलले प्रतिबद्धता जनाएका छन् ।

निर्माण व्यवसायीलाई तोकिएको अवधिभित्र कार्य पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति र कार्य क्षेत्रमा सुरक्षा बन्दोवस्ती मिलाउन लाभान्वित हुने चारवटै पालिकाको अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।

कार्य सम्पन्नको लागी चालु आवमा रू १० करोड मात्र बजेट प्राप्त भएको सडक डिभिजन नुवाकोटका प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो । तीन वर्षभित्र सडकको कालेपत्र सम्पन्न गर्न चालु आवमा रू ४० करोडको काम हुनुपर्ने छ ।