चराजस्तै आकासमा उडेर प्रकृतिको विचरण गर्ने रहर प्रायः सबैलाई हुन्छ होला । तर कसरी ? सवाल पेचिलो छ, तर भोक्टान डाँडा पुगे जवाफ पाइन्छ । उदयपुर जिल्ला बेलका नगरपालिकामा पर्ने यो भोक्टान डाँडाबाट उडेपछि सजिलै वरपरसम्मका प्रकृति विचरण गरेपछि कोशीको खुल्ला मैदानमा अवतरण गर्न सकिन्छ ।
यो अवसर जुराइदिएको छ फ्लाइङ वान्डर्स प्याराग्लाइडिङ स्कुलले । यो स्कुलले आकासमा उड्ने रहर भएकालाई प्रशिक्षण दिन्छ र चराझै आकाशमा उडाउँछ । पोखराका उम्दा युवा सुरेन गुरुङ, विमल अधिकारीलगायत अन्य ४ जना प्याराग्लाइडिङ पाइलटहरुले सञ्चालन गरेको यो स्कुलबाट प्रशिक्षण लिएपछि आकाशमा चराझै उड्न सकिन्छ । यसले व्यक्तिको आकाशमा उड्ने रहर मात्र पूरा गरेको छैन, पर्यटन, आर्थिक गतिविधि र युवालाई रोजगारी समेत दिएको छ ।
यो स्कुल स्थापना हुनुअघि प्रायः सुनसार रहेको उक्त क्षेत्र हिजोआज देशविदेशका पर्यटकको चहलपहल त देखिएको छ नै, त्यससँगै स्थानीय उत्पादनको खपत र रोजगारीले त्यस क्षेत्रको आर्थिक चहलपहल नै बेग्लै बन्दै गएको छ ।
आकासमा उड्नका लागि के चाहिन्छ भन्ने ग्लोब नेपालको जिज्ञासामा फ्लाइङ वान्डर्स प्याराग्लाइडिङ स्कुलका संस्था तथा पाइलट सुरेन गुरुङले भने, ‘भौतिक र मानसिक रुपमा तयार भए पुग्छ ।’ महँगो होला नि भन्ने जिज्ञासामा उनले भने, ‘पि–३ लेबलको कोर्ष गर्नुपर्छ । पि–३ लेबलको कोर्ष सक्न १ लाख ८० हजार रुपैयाँ भए पुग्छ । यो कोर्ष पूरा गरेपछि एक्लै उड्न सक्ने र न्यूनतम ३० वटा फ्लाइट उडान भरिसकेको हुन्छ ।’
व्यवसायिक उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता हुनुपर्छ । त्यसपछि नागरिक उड्डयान प्राधिकरण (क्यान) ले सम्भाव्य अध्ययन गर्छ । क्यानले उक्त अध्ययन मन्त्रालयलाई बुझाउँछ । त्यसपछि मन्त्रालयले नियमन गर्नका लागि क्यानलाई अध्ययन प्रतिवेदन दिन्छ । क्यानले रोज जारी गरेपछि उडान अनुमति पाइने गुरुङले बताए ।
गुरुङले भने, ‘प्रकृया झन्झिटिलो होइन, अध्ययनका लागि समय लागेको हो । व्यक्तिको सुरक्षासँग जोडिएको हुनाले सरकारले अनुमति दिँदा धेरै कुराको विचार पु¥याउनुपर्छ । त्यसलाई झन्झट भन्नु हुँदैन ।’
व्यवसायिक उडानका लागि कस्तो ठाउँमा चाहिन्छ त भन्ने सवालमा पाइलट गुरुङले भने, ‘डाँडाबाट उडेर सम्ममा अवतरण गर्नुपर्छ । उडान आँखाले छर्लङ देखिनुपर्छ । विजुलीका लाइन नभएका ठाउँ उपयुक्त हुन्छ ।’
बेलकामा सञ्चालित तपाईंहरुको स्कुल सुरक्षित छ त भन्ने जिज्ञासामा गुरुङले भने, ‘स्कुल सञ्चालन गरेको ८ वर्ष भयो, ८० भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइसकेका छन् । अहिलेसम्म दुर्घटना भएको छैन, भगवानसँग कामना गर्छु, नहोस् पनि ।’
प्याराग्लाइडिङ एउटा खेल हो । खेल भएको हुनाले स्वभाविक रुपमा प्रतिस्पर्धा हुन्छ । यसका तीनवटा विधा हुने गरेको पाइलट गुरुङले बताए । एक्युरेसी, एक्रोबेटिक र लामो दूरीको उडान यसका विधा हुन् ।
उमेरले नछेक्ने, पर्यटन रोजगारीमा टेवा पुग्ने यो खेललाई राज्यले खासै महत्व नदिएको गुनासो गुरुङको छ । हाम्रो प्राकृतिक स्वरुप नै प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न योग्य छ । पहाड र तराई, एकै किसिमले चल्ने हावाले प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न मद्दत पुग्छ । उनले भने, ‘यसतर्फ राज्यले जति चासो दिनुपर्ने हो, दिएको जस्तो लाग्दैन ।’
को हुन् सुरेन गुरुङ
प्याराग्लाइडिङ क्षेत्रमा दुई दशक बढीको अनुभव बटुलेका पोखराका सुरेन गुरुङमा पर्यटन क्षेत्रमा केही गरौं भन्ने हुटहुटी छ । केही समय बेलायतमा बिताएपछि उनी नेपाल फर्किर पर्यटन क्षेत्रमै आबद्ध भए । साथीको प्याराग्लाइडिङ कम्पनीमा व्यवस्थापक भएर काम गरेको उनीसँग अनुभव छ । पछि आफूलाई पनि प्याराग्लाइडिङको पाइलट बन्ने रहर जागेको उनी बताउँछन् ।
धरानमा पनि प्याराग्लाइडिङ गर्ने ठाउँ छ भन्ने सुनेका सुरेनले साथीहरुसँग पूर्वतिर घुम्न आउने योजना बनाए । त्यही योजना अहिले बेलकाको भोक्टान डाँडामा अंकुराउँदैछ । उनका धेरै साथीहरु बेलायती र स्पेनी थिए, अहिले पनि छन् । अनुभव र तालिमले अभ्यस्त भएपछि ती नै साथीहरुकै प्रेरणाले फ्लाइङ वान्डर्स प्याराग्लाइडिङ स्कुल जन्मेको उनले बताए ।
प्रतिक्रिया