कीर्तिपुरमा कांग्रेस–एमाले उम्मेदवारविरुद्ध उजुरी

कीर्तिपुरमा कांग्रेस–एमाले उम्मेदवारविरुद्ध उजुरी


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा काँगेस र एमालेका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवारविरुद्ध उजुरी परेको छ । काँग्रेस उम्मेदवार कृष्णमान डंगोल र एमाले उम्मेदवार सुरेन्द्र मानन्धरविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी गरेको हो ।

उजुरीकर्ता हिराबहादुर महर्जनले कांग्रेस उम्मेदवार डंगोलले कीर्तिपुर–७ इट्टागोलस्थित बेकरी एण्ड बेकरी रेष्टुरेण्ट र एमाले उम्मेदवार मानन्धरले र्कीर्तिपुर–१० सिंहदबुस्थित जेसिननी हेरिटेज रेष्टुरेण्टमा मतदाता प्रभावित तुल्याउन भोजभतेर आयोजना गरेको आरोप लगाएका छन् । उजुर्रीकर्ता सोही नगरपालिका–१० का मतदाता हुन् ।

‘निर्वाचन प्रचार–प्रसारको अवधि नै समाप्त भई मौन अवधि चलिरहेको अवस्थामा तपशीलका राजनीतिक दल र उम्मेदवारले तपशीलका स्थानमा निर्वाचन आचारसंहिता तथा निर्वाचन ऐनविपरीत ठूलो मतदाताको समूह जुटाई भोज भतेर खुवाई मतदाता प्रभावित तुल्याउने कार्य गरेको प्रमाण फेला परेकोले आवश्यक कारबाही गरिपाउँ’, महर्जनले उजुरीमा लेखेका छन् ।

उजुरीमाथि अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।