काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यहि मंसिर ३० गतेदेखि नियमित रुपमा संचालनमा आउन लागेको हो । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालन गर्न नगरपालिकाले तारा एअर र यती एअरलाईन्स सँग सहकार्य र समन्वय गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअर सँग नगरपालिकाले न्युनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायीक उडान नियमित गर्न सहज हुने जानकारी दिए । विमानस्थलमा केही समय अगाडी नेपाल एअरलाईन्सले परिक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायीक उडान गरिसकेको छ ।
हाल आईतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यात्रुको माग बढेमा उडान थप्ने योजनामा तारा एअर रहेको र हाललाई काठमाण्डौं सम्मको भाडा नौ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँचसय निर्धारण गरिएको पनि बर्तौलाले बताए । तारा एअर मार्फत टीकापुर-नेपालगन्ज-टीकापुर उडान हुने र यती एअरलाईन्सको नियमित उडानबाट काठमाण्डौं आवतजावत गर्ने तालिका मिलाईएको एअरलाईन्सले जानकारी दिएको छ ।
यात्रुहरुको सहजताका लागी तारा एअरले नेपालगन्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगन्जका लागि १:२० उडान गर्नेछ भने यतीको काठमाडौं-नेपालगन्जको उडान तालिका बिहान १० बजे र नेपालगन्ज-काठमाण्डौंको उडान तालिका दिँउसो २:०५ बजे रहेको छ ।
टीकापुर आवतजावत गर्ने टिकट यती एअरलाईन्स तथा तारा एअरका वेबसाईट तथा सेल्स अफिसहरुबाट लिन सकिनेछ भने ईसेवा, खल्ती, फोन पेका साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाण्डौंमा पथिल होलिडे मार्फत पनि लिन सकिने ।
तारा एअरले हाल ३ वटा टुईनअटर वायुयान मार्फत लुक्ला, फाप्लु, रामेछाप, जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान गर्दै आएको छ ।
प्रतिक्रिया