दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । महाअभियोग प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गरेका थिए । विपक्षीले भने उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो ।
सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो । दोस्रो प्रयासमा शनिबार फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षमा मतदान भएको थियो । यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले आफ्नो समाचामा उल्लेख गरेको छ ।
यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् । राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए ।
यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए । सैनिक शासन घोषणाको ११ दिनपछि राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको हो ।
राष्ट्रपति योलले ‘राष्ट्रविरोधी शक्तिहरू’ बाट देशको रक्षा गर्न र सामाजिक व्यवस्था कायम राख्न सैनिक शासन लगाउनु परेको तर्क गरेका थिए । ‘राष्ट्रविरोधी शक्तिहरू’ भन्ने शब्दलाई प्रतिपक्ष र अन्य विरोधी समूहहरूसँग जोडेर व्याख्या गरिएको छ । महाभियोग प्रस्ताव पारित भएपछि युनको राष्ट्रपतिको जिम्मेवारी तत्काल निलम्बन गरिएको छ । अब यो प्रस्तावलाई संवैधानिक अदालतले अनुमोदन गर्ने वा खारेज गर्ने भन्ने निर्णय लिनेछ ।
प्रतिक्रिया