काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेसम्म रहस्यमय रहेको निर्मला हत्या प्रकरण ब्यूताउँन थालेका छन् । घटनास्थल मन्त्री लेखकको निर्वाचन क्षेत्र भएकाले अनुसन्धानलाई अगाडि बढाउन उनले चासो देखाएका हुन् । ६ वर्षअघिको यो घटनाका बारेमा मन्त्री लेखकले पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए ।
अहिले उनी अनुसन्धान गर्ने जिम्मेवारी निकायमै पुगेका छन् । तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
अब पत्ता लगाउन सकिन्छ कि भनेर मन्त्री लेखकको निर्देशनअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको छ । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
हिजो (मंगलबार) मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ ।
प्रतिक्रिया