काठमाडौं । गाजामा युद्धविराम र इजरायल र हमासबीच बन्धक रिहाई सम्झौताका विषयमा भएको वार्ता ९० प्रतिशत पूरा भएको छ । युद्धरत दुबै पक्षसँग सम्झौताको अन्तिम चरणमा रहेको वार्तामा संलग्न अधिकारीहरुले बताएका छन् ।
केही मुख्य मुद्दाहरुमा सहमति जुट्न बाँकी रहेको प्यालेस्टायनी अधिकारीले बताएका छन् । कतारको दोहामा जारी वार्तामा इजिप्टसँग सीमा जोडिएको गाजाको फिलाडेल्फी करिडोरमा इजरायली सेनाको उपस्थितिका विषयमा छलफल भइरहेको छ ।
यो करिडोर दक्षिणी गाजाका लागि रणनीति रुपमा महत्वपूर्ण भूमि पनि मानिन्छ । इजरायलले यस क्षेत्रमा सैन्य उपस्थिति कायम राख्ने अधिकारीहरुको भनाइ छ ।
यी मुद्दाहरू समाधान भएपछि तीन चरणको युद्धविराममा सहमति हुन सक्ने बताइएको छ । सम्झौतामा युद्धविरामको तीन चरणमध्ये पहिलो चरणमा रिहा हुने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरु रिहा हुनेछन् ।
कैदीहरूको नामका विषयमा सहमति हुन बाँकी छ । इजरायलमा २५ वर्ष वा सोभन्दा बढी जेल सजाय भोगिरहेका करिब ४ सय कैदीहरुबाट नाम छनौट गरिनेछ ।
प्रतिक्रिया